जनता टाइम्स

४ श्रावण २०८३, सोमबार १३:०७

बिपी राजमार्गमा बढ्दै सुक्खा पहिरोको जोखिम 


काठमाडौं, साउन ४ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका क्षेत्रमा पर्ने बिपी राजमार्गमा सुक्खा पहिरो बढे पछि यात्रु र सवारीसाधनको आवागमन थप जोखिमपूर्ण बनेको छ। सडक पुनर्निर्माण भइरहेका विभिन्न स्थानमा पहाडका भित्ताबाट ठुला ठुला पहिराे खस्न लागेपछि प्रहरीले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार रोशी गाउँपालिकाका विभिन्न खण्डमा सडक विस्तार तथा मर्मतको काम भइरहेका कारण पहाडका भित्ताहरू कमजोर बनेका छन्। यही कारण माथिबाट सुक्खा पहिरो खस्ने जोखिम बढ्दै गएको छ। सडकमा ढुङ्गा–माटो झर्ने सम्भावना उच्च रहेकाले चालकलाई गति नियन्त्रण गर्न र अनावश्यक यात्रा नगर्न अनुरोध गरिएको छ।

गत वर्ष रोशी खोलामा आएको विनाशकारी बाढीले बिपी राजमार्गको यही खण्डमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि सडक पुनर्निर्माण र स्तरोन्नतिको काम अझै जारी रहेकै बेला सुक्खा पहिरोको नयाँ जोखिम थपिँदा यात्रा थप चुनौतीपूर्ण बनेको हो।

लगातारको वर्षासँगै थप पहिरो खस्ने सम्भावना रहेकाले बिपी राजमार्ग प्रयोग गर्ने यात्रुहरूले अत्यधिक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। सडकमा खस्न सक्ने ढुङ्गा, माटो र लेदोका कारण जुनसुकै बेला आवागमन प्रभावित हुन सक्ने चेतावनी पनि दिइएको छ।

जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ। रातको समयमा दृश्यता कम हुने र पहिरो तथा लेदो अचानक खस्ने जोखिम बढी हुने भएकाले यस्तो निर्णय गरिएको जनाइएको छ।

बिपी राजमार्गमा वर्षायाम सुरु भएयता बारम्बार पहिरो र लेदो खस्दा सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ। राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख राजमार्ग भएकाले यहाँको अवरोधले हजारौं यात्रु र ढुवानी सेवामा प्रत्यक्ष असर पर्दै आएको छ। प्रहरी र सडक आयोजनाले अत्यावश्यकबाहेकको यात्रा नगर्न तथा यात्रा गर्नै परे सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेका छन्।