जनता टाइम्स

४ श्रावण २०८३, सोमबार १४:४६

बागमती सरकारबाट तत्काल नबाहिरिने एमालेको निर्णय, केन्द्रको निर्देशनपछि मात्रै थप कदम चाल्ने 


काठमाडौं, साउन ४ । केन्द्रीय सत्ता समीकरणमा आएको परिवर्तनपछि बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा (एमाले)ले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ। एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्देशन नआएसम्म सरकारमा यथावत् रहने निष्कर्ष निकालेको हो।

यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई सामूहिक राजीनामा दिन निर्देशन दिएको चर्चा चलेको थियो। संसदीय दलका नेता जगन्नाथ थपलियाले समेत मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सरकारबाट बाहिरिने तयारीबारे जानकारी गराएको बताइएको थियो। तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै पार्टीले तत्काल राजीनामा नदिने रणनीति अपनाएको छ।सोमबार काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले केन्द्रको आधिकारिक निर्णय नआएसम्म सरकार नछाड्ने निष्कर्ष निकालेको हो।

बागमती प्रदेशका कृषि, पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेलले पार्टीको आधिकारिक निर्देशन नआएसम्म सरकारबाट बाहिरिने कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो। “पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन। निर्देशन आएपछि जे भनिन्छ, त्यही गर्छौं’, मन्त्री पौडेलले भन्नुभयो।उहाँका अनुसार पार्टी सचिव महेश बस्नेतसमेत सहभागी बैठकले तत्काल सरकार छाड्ने निर्णय नगरेको तथा वर्तमान राजनीतिक अवस्थाबारे केन्द्रीय तहमा छलफल जारी रहेको जानकारी गराएको छ।

मन्त्री पौडेलले बागमती प्रदेशमा नेपाली कांग्रेससँगको गठबन्धन औपचारिक रूपमा अझै कायम रहेको बताउनुभयो। उहाँले केन्द्रमा राजनीतिक छलफल भइरहे पनि प्रदेश तहमा कुनै नयाँ निर्देशन प्राप्त नभएको उल्लेख गर्नुभयो। “तत्कालका लागि हामी सरकारका नियमित काममै केन्द्रित हुन्छौँ, पार्टीले जे निर्णय गर्छ, त्यसैअनुसार अघि बढ्छौँ,” उहाँले भन्नुभयो।

उहाँले मन्त्रालय पुनर्संरचना, विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको आगामी स्वरूपबारे पनि एक–दुई दिनभित्र स्पष्टता आउने विश्वास व्यक्त गर्नुभयो।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिँदो राष्ट्रिय राजनीतिक अवस्थालाई ध्यानमा राख्दै हतारमा निर्णय नगर्ने निष्कर्षमा पार्टी पुगेको बताउनुभयो। “हरेक दिन राजनीतिक परिस्थिति बदलिरहेको छ, त्यसैले तत्काल सरकार छाड्ने निर्णय गरिएको छैन, केन्द्रको निर्देशन, अन्य दलसँगको संवाद र विकसित राजनीतिक अवस्थाको मूल्याङ्कनपछि मात्रै अन्तिम निर्णय हुन्छ,” उहाँले भन्नुभयो।

केन्द्रीय तहमा नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहकार्य अन्त्य भएपछि बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी गरेका थिए। तर, अन्तिम समयमा केन्द्रबाट तत्काल राजीनामा नदिन निर्देशन आएपछि राजीनामा प्रक्रिया रोकिएको स्रोतहरूको भनाइ छ।

हाल बागमती प्रदेश सरकारमा एमालेबाट मधुसुदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा मगर र विन्दु श्रेष्ठ मन्त्रीका रूपमा कार्यरत हुनुहुन्छ।केन्द्रमा सत्ता समीकरण फेरिए पनि बागमती प्रदेश सरकारको भविष्यबारे भने अझै स्पष्ट निर्णय सार्वजनिक भएको छैन। विभिन्न राजनीतिक दलबीच सम्भावित नयाँ समीकरणबारे छलफल जारी रहे पनि त्यसले प्रदेश सरकारको स्वरूपमा कस्तो प्रभाव पार्ने भन्ने विषय केही दिनमै स्पष्ट हुने अपेक्षा गरिएको छ।