काठमाडौं, साउन ४ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटा, दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका १४ जना महिला सकुशल फेला परेका छन्।
उनीहरू आइतबार बिहान करिब ११ बजे निकुञ्जभित्र च्याउ खोज्न प्रवेश गरेका थिए। साँझ ९ बजेसम्म पनि घरपरिवार तथा स्थानीयको सम्पर्कमा नआएपछि उनीहरूको खोजी सुरु गरिएको थियो।
सम्पर्कविहीन महिलाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोली तथा स्थानीयवासी परिचालन गरिएको थियो। रातभर सञ्चालन गरिएको खोजी अभियानपछि सोमबार दिउँसो करिब १ः१० बजे सबै १४ जना सकुशल सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सम्पर्कविहीन भएका सबै महिलाको अवस्था सामान्य रहेको छ। उनीहरू निकुञ्जभित्र बाटो बिराएर निर्धारित समयमा बाहिर निस्कन नसकेका कारण सम्पर्कविहीन भएका थिए।
समयमै खोजी तथा उद्धार टोली परिचालन गरिएकाले सबैलाई सकुशल फेला पार्न सफल भएको प्रहरीले जनाएको छ। घटनापछि निकुञ्ज क्षेत्रभित्र प्रवेश गर्दा आवश्यक सावधानी अपनाउन तथा समूहमा गए पनि सम्बन्धित निकायलाई जानकारी गराएर मात्र वन क्षेत्रमा प्रवेश गर्न आग्रह गरिएको छ।














प्रतिक्रिया दिनुहोस्