जनता टाइम्स

४ श्रावण २०८३, सोमबार १९:५८

स्कुटरको मुनि अकस्मात मृग छिरेपछि…  


रामेछाप, साउन ४ । रामेछापको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–रामेछापडाँडा भित्री सडकमा सोमबार भएको अप्रत्याशित दुर्घटनामा एक मृगको ज्यान गएको छ भने स्कुटरमा सवार बाबु–छोरा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटर अगाडि करिब २० केजी तौलको जंगली मृग एक्कासि छिरेपछि दुर्घटना भएको हो।

प्रहरीका अनुसार स्कुटर चालक रामेछाप नगरपालिका–८ सल्लेका १८ वर्षीय सञ्जीव तामाङले मृगलाई जोगाउने प्रयास गर्नुभएको थियो। तर, क्षणभरमै स्कुटर अनियन्त्रित भई मृगलाई ठक्कर दिँदा मृगको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा चालक सञ्जीव तामाङको बायाँ हातको कुहिनो तथा दुवै खुट्टामा चोट लागेको छ। उहाँको मन्थली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

स्कुटरको पछाडि सवार उहाँका १० वर्षीय छोरा जेसीज तामाङको पेट र टाउकोमा चोट लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उहाँलाई काठमाडौं पठाइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी हवल्दार रामदिनेश राय यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर सुरक्षा व्यवस्था मिलाएको थियो। डिभिजन वन कार्यालय रामेछापको टोली पनि घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न स्कुटर जिल्ला प्रहरी कार्यालय रामेछापको नियन्त्रणमा रहेको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब दुई किलोमिटर पूर्व–दक्षिणतर्फ पर्छ।

वन क्षेत्र नजिकका सडकमा एक्कासि वन्यजन्तु सडकमा निस्कने जोखिम रहने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता यस घटनाले पुनः स्मरण गराएको छ। केही सेकेन्डको अप्रत्याशित घटनाले एकातिर मृगको जीवन अन्त्य गरिदियो भने अर्कोतर्फ बाबु–छोरा घाइते भई उपचारका लागि अस्पताल पुग्नुपर्ने अवस्था सिर्जना भयो।