जनता टाइम्स

५ श्रावण २०८३, मंगलवार १७:४४

कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको खुल्यो पहिचान, शंकाको सुई आत्मदाहतिरै घुम्यो


काठमाडौं, साउन ५। कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । जलेर मृत्यु हुनेमा काठमाडौंको नरदेवीका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

बा ५च ३०३८ नम्बरको सेतो कार मंगलबार कीर्तिपुरको चाँदनीचोकस्थित खाली जग्गामा पार्किङ गरिएको अवस्थामा जलेर नष्ट भएको थियो । उक्त कार पनि श्रेष्ठकै नाममा रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिनुभयो ।

कारको चालक सिटमा जलेर मृत्यु भएको अवस्थामा शव भेटिएको थियो । कार पार्किङका निम्ति मंगलबार बिहान १० बजेर ४६ मिनेटमा त्यहाँ पुगेको पनि खुलेको छ । कार त्यहाँ पुगेपछि चालक बाहिर नओर्ली भित्रबाट नै आगो लागेको देखिएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल नियालेका स्थानीयले श्रेष्ठको कारमा एक्कासी आगो लगोको हो कि उहाँले कारभित्र आफै आगो लगाएर आत्मदाह गरेका हुन भन्ने आशंका गरेका छन । नरदेवी निवासी श्रेष्ठ कीर्तिपुरमा पुग्नसाथ कारमा एक्कासी आगो लाग्नु र सिट बेल्ट बाँधेकै अवस्थामा पुरै जलेको अवस्थामा उहाँको शव भेटिनुले घटनाको सुई आत्मदाहतिर घुमेको आशंका गरिएको हो ।