रामेछाप, साउन ५ । वैदेशिक रोजगारीको आकर्षणका कारण गाउँका युवा कृषि पेसाबाट क्रमशः टाढिँदै गइरहेका बेला रामेछापका स्थानीय तहहरूले कृषि र पशुपालनलाई आधुनिक तथा व्यवसायिक बनाउने अभियानलाई तीव्रता दिएका छन्। उत्पादनसँगै रोजगारी सिर्जना गर्दै गाउँमै समृद्धिको आधार निर्माण गर्ने उद्देश्यका साथ स्थानीय सरकारले कृषिमै भविष्य देख्ने वातावरण बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छन्।
स्थानीय तहहरूले किसानलाई व्यावसायिक तरकारी खेती, पशुपालन तथा आधुनिक कृषि प्रविधिमा आकर्षित गर्न तालिम, अनुदान र आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छन्। यसले कृषि पेसाप्रति नयाँ विश्वास जागृत हुनुका साथै गाउँमै आयआर्जनका अवसर विस्तार हुने अपेक्षा गरिएको छ।
लिखु तामाकोशी गाउँपालिका–२ का वडाध्यक्ष सन्तोष पौडेलका अनुसार कृषिलाई प्राथमिकतामा राखेर विभिन्न सीपमूलक तालिम, अनुदान र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको छ। उहाँले वडाको सहजीकरण तथा बागमती प्रदेश सरकारको तरकारी खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा विभिन्न कृषि फार्म तथा कृषकलाई ५५ वटा प्लास्टिक टनेल वितरण गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार टनेल वितरणअघि किसानलाई आधुनिक तरकारी खेतीसम्बन्धी तालिम प्रदान गरिएको थियो। तालिमपछि टनेल प्राप्त गरेका अधिकांश किसानले व्यावसायिक रूपमा तरकारी उत्पादन सुरु गरिसकेका छन्। यसबाट स्थानीय उत्पादन बढ्नुका साथै किसानको आम्दानी वृद्धि हुने विश्वास गरिएको छ।
वडाध्यक्ष पौडेलले तरकारी खेतीसँगै भैँसी प्रवर्द्धन कार्यक्रम लगायत कृषि तथा पशुपालनसँग सम्बन्धित अन्य योजनाहरू पनि प्रभावकारी रूपमा सञ्चालन गरिएको बताउनुभयो। बाँकी कार्यकालमा पनि कृषि र पशुपालनलाई अझ उच्च प्राथमिकतामा राखेर किसानको आर्थिक अवस्था सुधार्ने योजनामा वडा कार्यालय प्रतिबद्ध रहेको उहाँको भनाइ छ।
स्थानीय किसान यमबहादुर तामाङ यस्ता कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेमध्ये एक हुनुहुन्छ। वडा कार्यालयबाट प्राप्त चारवटा प्लास्टिक टनेलमध्ये तीनवटामा उहाँले गोलभेँडा र एउटामा खुर्सानी खेती गर्नुभएको छ। अहिले टनेलभित्र गोलभेँडाका बोटमा फूल लाग्न थालेपछि उहाँ उत्साहित हुनुहुन्छ।
तामाङका अनुसार सरकारी सहयोगले किसानलाई आत्मनिर्भर बन्ने आत्मविश्वास दिएको छ। यस्ता कार्यक्रम सबै किसानसम्म विस्तार गर्न सकिए कृषि व्यवसाय अझ सशक्त बन्ने र गाउँमै सम्मानजनक आम्दानी गर्ने वातावरण सिर्जना हुने उहाँको विश्वास छ।
कृषिलाई केवल परम्परागत पेसाका रूपमा नभई आधुनिक उद्यमका रूपमा विकास गर्ने स्थानीय तहको प्रयासले रामेछापमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने, उत्पादन बढाउने र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने दिशामा यस्ता कार्यक्रम प्रेरणादायी उदाहरण बन्दै गएका छन्। यदि यस्ता अभियानलाई निरन्तरता र प्रभावकारी विस्तार गर्न सकियो भने कृषि क्षेत्रले मात्र किसानको जीवनस्तर उकास्ने होइन, वैदेशिक पलायन घटाउँदै आत्मनिर्भर नेपालको आधारसमेत बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्