जनता टाइम्स

६ श्रावण २०८३, बुधबार १०:४०

माछापुच्छ्रे बैंकको उच्च व्यवस्थापनमा बढुवा, वरिष्ठ डीसीईओमा अर्याल र डीसीईओमा जमरकटेल नियुक्त


काठमाडौं, साउन ६ । माछापुच्छ्रे बैंकले दुई बरिष्ठ कर्मचारीको बढुवा गरेको छ ।

सोमवार अर्थात साउन ४ गते बसेको बैंकको संचालक समिति बैंठकले नायव प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (वरिष्ठ डीसीईओ) पदमा र नायव महाप्रबन्धक सुभाष जमरकटेललाई नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा करिब दुई दशक भन्दा बढीको अनुभव, ज्ञान तथा उत्कृष्ट नेतृत्व दक्षता रहेको छ । अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न पदमा कायर्रत रही बैंकिङ क्षेत्रकै एक अनुभवी बैंकरका रूपमा परिचित हुनुहुन्छ ।

वित्तीय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका जमरकटेल एक दक्ष तथा अनुभवी चार्टर्ड एकाउन्टेन्टका रूपमा परिचित हुनुहुन्छ । उहाँले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी तथा नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानून विषयमा स्नातक तहको उपाधि हासिल गर्नुभएको छ । साथै, उहाँले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) थाइल्याण्डबाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गर्नुभएको छ ।

अर्याल तथा जमरकटेल दुवै आफ्नो बैंकिङ करियरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गर्दै बैंकिङ क्षेत्रका सक्षम, अनुभवी तथा सफल बैंकरका रूपमा रुपमा चिनिनुहुन्छ ।