रामेछाप, साउने ६ । गाउँका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले बुधबार श्री शारदा संस्कृत माध्यमिक विद्यालय, रामेछाप–८ बाबियाखर्कमा आयोजना गरेको एकदिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट १५० जना स्थानीय लाभान्वित भएका छन्।
विद्यालयसँगको समन्वयमा सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकको स्वास्थ्य परीक्षण, आयुर्वेदिक औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा निःशुल्क प्रदान गरिएको थियो। शिविरमा उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पुरानो खोकी, हाडजोर्नी, पिनास, नसासम्बन्धी समस्या, छालाका रोग तथा बाथलगायतका विभिन्न स्वास्थ्य समस्याको विशेषज्ञ चिकित्सकद्वारा परीक्षण गरिएको थियो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापका निमित्त प्रमुख दीपक कार्कीका अनुसार शिविरमा आवश्यक परामर्शसँगै बिरामीको अवस्थाअनुसार आयुर्वेदिक औषधिसमेत उपलब्ध गराइएको थियो। शिविरमा डा. उत्तम गैरे, डा. अरुण टेर्रालगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश्चन्द्र घिमिरेले स्थानीय अभिभावकको माग र आवश्यकतालाई ध्यानमा राखेर चिकित्सालयसँग समन्वय गरी शिविर आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना बढाउनुका साथै समयमै उपचारको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद घिमिरेका अनुसार अभिभावकहरूमा ग्यास्ट्रिक, दम, बाथ तथा हाडजोर्नीसम्बन्धी समस्या व्यापक देखिनुका साथै विद्यार्थीहरूमा पनि पेट दुख्ने र छालासम्बन्धी विभिन्न समस्या दोहोरिन थालेपछि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

शिविरमा स्वास्थ्य परीक्षण गरिएका अधिकांश बिरामीमा उच्च रक्तचाप, मधुमेह, हाडजोर्नी, पेट तथा नसासम्बन्धी समस्या बढी देखिएको डा. उत्तम गैरेले जानकारी दिनुभयो। उहाँले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान, योग, व्यायाम र आयुर्वेदिक जीवनशैली अपनाउन सके यस्ता धेरै रोगबाट बच्न सकिने सुझाव दिनुभयो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लाका विभिन्न गाउँबस्तीमा नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर तथा घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता अभियानले स्वास्थ्य सेवा पहुँचबाहिर रहेका नागरिकसम्म उपचार र परामर्श पुर्याउँदै स्वस्थ समाज निर्माणमा सकारात्मक योगदान दिइरहेको स्थानीयवासीले बताएका छन्।













प्रतिक्रिया दिनुहोस्