जनता टाइम्स

६ पुष २०७६, आईतवार १७:३५

जेल चलान भए गाउँपालिका अध्यक्ष


बारा, पुस ६ । बारा जिल्लाको विश्रापुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई पक्राउ गरी कारागार चलान गरिएको छ । तेह्र वर्ष पुरानो सवारी ज्यान मुद्दामा फरार प्रतिवादीको आरोप लागेका राउतलाई प्रहरीले आज पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी विकासराज खनालका अनुसार २९ दिन कैद र दुई हजार रूपैयाँ जरिवानाको फैसला कार्यान्वयन गर्न राउतलाई पक्राउ गरी कारागार पठाइएको हो । २०६२ सालमा घटेको घटनामाथि २०६३ साल भदौ २९ मा जिल्ला अदालत बाराले राउतलाई २९ दिन जेल र दुई हजार जरिवना गर्ने फैसला सुनाएको थियो । सोही फैसला कार्यान्वयन गर्न प्रहरीले पक्राउ गरी कारागकार पठाएको हो ।

‘फरार रहेका राउतलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ,’ एसपी खनालले भन्नुभयो । राउतलाई २९ दिन थुनामा राख्न कारागार पठाइसकिएको एसपी खनालले जानकारी दिनुभयो । ‘आजै पक्राउ गरेका हौं। आजै अदालतमा पेश गरी आजै कारागार पठाइएको छ,’ उनले सेतोपाटीसँग भने।