जनता टाइम्स

६ पुष २०७६, आईतवार १७:५०

ज्येष्ठ नागरिकमैत्री देखियो सरकार : १० बर्षीय रणनीतिक योजना बनाउने मन्त्री गुरुङको घोषणा


काठमाडौं, पुस ६ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिकको समस्या समाधानका लागि १० वर्षीय रणनीतिक योजना बनाउने घोषणा गर्नुभएको छ । मन्त्री गुरुका अनुसार ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा प्रयोग हुने गरी सरकारले ज्येष्ठ नागरिक सम्बन्धि १० वर्षे रणनीतिक योजना तय गर्न लागेको हो ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज ज्येष्ठ नागरिकहरुसँगको अन्तरक्रियामा बोल्दै मन्त्री गुरुले ज्येष्ठ नागरिकहरुको हित हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको बताउनु भयो । उहाँले सरकारले समेटनु पर्ने बिषयमा आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलार्ई आग्रह गर्नुभयो । ‘ज्येष्ठ नागरिकहरुको ज्ञान, सीप र अनुभवलाई मुलुकको समृद्धिसँग जोडेर अघि बढने गरी सरकारले १० वर्षे रणनीतिक योजना बनाउने कामलाई अघि बढाएको छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसका लागि आवश्यक सुझाव दिन ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत संघ, संस्था तथा विज्ञहरुलाई आह्वान गर्दछु ।’

मन्त्री गुरुङले विपन्न वर्गका ज्येष्ठ नागरिकका लागि विशेष कार्यक्रम ल्याउने कामलाई सरकारले उच्च प्राथमिकता दिएको जानकारी पनि दिनुभयो । उहाँले ज्येष्ठ नागरिकसम्बन्धि कार्यक्रमलाई ‘रुपान्तरणकारी कार्यक्रम’को रुपमा अघि बढाउन सरकारले चाहेको पनि स्पष्ट पार्नुभयो । त्यसका लागि आवश्यक सुझाव दिन मन्त्री गुरुङले अवकाश प्राप्त नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुलाई समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकहरुको हितमा सरकार केन्द्रित हुन लागेकोमा खुसी व्यक्त गर्दैै मन्त्री गुरुङप्रति आभार व्यक्त गर्नु भएको थियो ।