रामेछाप, साउन ७ । प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ यस वर्ष पत्रकार तथा नेपाल प्रेसका प्रधानसम्पादक मात्रिका पौडेललाई प्रदान गरेको छ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा बिहीबार मन्थलीमा आयोजित विशेष समारोहमा पहिलो पटक उक्त पुरस्कार प्रदान गरिएको हो। पुरस्कारस्वरूप पौडेललाई २५ हजार रुपैयाँ नगद, दोसल्ला र प्रशंसापत्र प्रदान गरिएको थियो।

प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले पुष्पलाल राष्ट्रिय सीमामा मात्र सीमित नभई अन्तर्राष्ट्रिय व्यक्तित्व भएको बताउनुभयो। उहाँले पुष्पलालको विचार र योगदानलाई विश्वसामु चिनाउन नेपाली पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पुरस्कृत पत्रकार पौडेलले पनि त्यस अभियानलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलले पुष्पलालको जन्मभूमि रामेछापलाई राजनीतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न पत्रकारहरूले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले पुष्पलालले प्रतिपादन गर्नुभएको वाम–लोकतान्त्रिक शक्तिको एकताको अवधारणा आज पनि सान्दर्भिक रहेको उल्लेख गर्दै वर्तमान राष्ट्रिय चुनौतीको सामना गर्न लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले नेपालको कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको इमानदार समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। समीक्षा नगरी गरिने गठबन्धन वा पार्टी एकताले दीर्घकालीन उपलब्धि नदिने उल्लेख गर्दै सत्ता स्वार्थका लागि हुने राजनीतिक सहकार्यले आन्दोलनलाई थप जटिल बनाउने उहाँको भनाइ थियो।

पुरस्कार ग्रहण गर्दै पत्रकार मात्रिका पौडेलले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेका बेला जिम्मेवार पत्रकारिताको आवश्यकता अझ बढेको बताउनुभयो। उहाँले नेपाली पत्रकारिता अहिले आत्म–नियन्त्रण (सेल्फ सेन्सरसिप) र विभिन्न प्रकारका अवरोधको सामना गरिरहेको उल्लेख गर्दै ती सबै चुनौतीलाई चिर्दै सत्य र तथ्यमा आधारित पत्रकारिता अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यहरू शान्तिप्रसाद पौडेल, प्रेमबहादुर तामाङ र ज्ञानकुमार श्रेष्ठ, पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष होतराज ढकाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्ष तिलकराम रिमाल, नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष दीपक घिमिरे, पूर्वअध्यक्ष बद्री नयाँघरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता–कार्यकर्ता, पत्रकार तथा विभिन्न जनसङ्गठनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसै अवसरमा पुरस्कार कोष स्थापनाका लागि सहयाेग गर्ने नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा समाजसेवी रत्न गौतमले लाई सम्मानपत्र प्रदान गरिएकाे थियाे । उहाँले साे काेषकाे लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ। उहाँले पाँच वर्षसम्म वार्षिक एक लाख रुपैयाँका दरले कोषमा रकम जम्मा गर्ने घोषणा गर्नुभएको छ भने पहिलो वर्षको रकमसमेत कोषमा जम्मा गरिसक्नुभएको छ ।
प्रेस चौतारी नेपाल रामेछापका सचिव सङ्कर बरुवालका अनुसार आगामी दिनमा पुरस्कार कोषलाई १० लाख रुपैयाँ पुर्याउने तथा पुरस्कार राशिलाई ५० हजार रुपैयाँ पुर्याउने योजना संगठनले अघि सारेको छ।













प्रतिक्रिया दिनुहोस्