काठमाडौं, साउन ७ । प्रवासी नेपालीहरूको साझा संस्था इस्माली समाज युएईले नेपाली कला, संस्कृति, परम्परा, सामाजिक एकता तथा आत्मनिर्भर विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हरितालिका तीज उत्सव–२०८३ आयोजना गर्ने भएको छ।
आगामी १३ सेप्टेम्बर २०२६ (आइतबार) अबुधाबीस्थित Radisson Blu Hotel & Resort, Opera Club मा आयोजना हुने उक्त कार्यक्रमलाई नेपाली मौलिक संस्कृति संरक्षणसँगै सामाजिक उत्तरदायित्व र विकासको अभियानलाई एकै मञ्चमा प्रस्तुत गर्ने विशेष अवसरका रूपमा लिइएको आयोजकले जनाएको छ। “संस्कृति, सद्भाव, सम्मान : इस्मालीको परिचय” भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा नेपालकी चर्चित लोक तथा दोहोरी गायिका प्रिति आले, लोकप्रिय गायक राजन बस्नेत तथा युएईमा रहेका इस्माली समुदायका प्रतिभाशाली कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ। कार्यक्रममा हरितालिका तीजको मौलिकता, नेपालीपन, कला, संस्कृति र परम्परालाई जीवन्त रूपमा प्रस्तुत गरिने जनाइएको छ।
यस वर्षको तीज उत्सवको प्रमुख आकर्षणका रूपमा “स्मार्ट कृषि अभियान : आत्मनिर्भर इस्माली, समृद्ध भविष्य निर्माणार्थ” लाई अघि सारिएको छ। संस्थाले आगामी मंसिरदेखि इस्मा गाउँपालिका–५ चप्टारी क्षेत्रमा करिब १४ रोपनी जग्गामा आधुनिक कृषि परियोजना सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन वृद्धि, बजारीकरण, स्थानीय रोजगारी सिर्जना तथा युवालाई कृषितर्फ आकर्षित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिने बताइएको छ।
संस्थाका अध्यक्ष मनबहादुर कुँवरले प्रवासमा रहेर पनि भाषा, कला, संस्कृति र परम्पराको संरक्षण गर्नु प्रत्येक नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै तीज उत्सव त्यस अभियानको महत्वपूर्ण कडी भएको बताउनुभयो। उहाँले संस्कृति संरक्षणसँगै सामाजिक उत्तरदायित्व र आत्मनिर्भर विकासलाई जोड्दै इस्माली समाजले अब सामाजिक रूपान्तरणका कार्यक्रमलाई पनि प्राथमिकता दिएको जानकारी दिनुभयो। साथै सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई आफ्नो संस्कृति र पहिचानलाई थप उजागर गर्न आग्रह गर्नुभयो।
संस्थाका महासचिव मनोज ज्ञवालीले यस वर्षको तीज उत्सव मनोरञ्जनमा मात्र सीमित नरही संस्कृति, सामाजिक एकता, सेवा र विकासलाई जोड्ने सन्देशमूलक कार्यक्रमका रूपमा आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले कार्यक्रमबाट प्राप्त सहकार्य र ऊर्जालाई गाउँको विकाससँग जोड्दै स्मार्ट कृषि अभियानलाई सफल बनाइने बताउनुभयो। साथै प्रवासमा रहेका सम्पूर्ण इस्माली तथा नेपाली दाजुभाइ–दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई अभियान सफल बनाउन अनुरोध गर्नुभयो।
कार्यक्रम संयोजक राधिका बिष्टले कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिँदै व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक प्रस्तुति तथा सम्पूर्ण प्राविधिक पक्षलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू सक्रिय रहेको बताउनुभयो। उहाँले यस वर्षको तीज उत्सवलाई यूएईकै उत्कृष्ट नेपाली सांस्कृतिक कार्यक्रमका रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी सांस्कृतिक विभाग प्रमुख रञ्जिता कुँवरले नेपाली कला, संस्कृति र मौलिक पहिचान झल्किने उत्कृष्ट सांस्कृतिक प्रस्तुति तयार पारिएको जानकारी दिनुभयो। उहाँले नेपालबाट आउने कलाकारहरूसँगै युएईमा रहेका स्थानीय प्रतिभालाई पनि विशेष प्राथमिकता दिइएको बताउँदै तीजको मौलिकता, नेपालीपन र सांस्कृतिक गौरवलाई जीवन्त बनाउने गरी कार्यक्रम प्रस्तुत गरिने उल्लेख गर्नुभयो।
इस्माली समाज यूएईले संस्कृति संरक्षण, सामाजिक सेवा तथा आत्मनिर्भर विकासका अभियानलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ। संस्थाका अनुसार हरितालिका तीज उत्सव–२०८३ नेपाली मौलिक संस्कृतिको उत्सव मात्र नभई प्रवासी नेपालीहरूको एकता, सहकार्य, सामाजिक उत्तरदायित्व तथा समृद्ध भविष्य निर्माणतर्फको साझा अभियानका रूपमा स्थापित हुने विश्वास लिइएको छ।
संस्थाले युएईमा रहेका सम्पूर्ण नेपाली समुदाय, शुभेच्छुक, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिलाई कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति तथा आत्मनिर्भर विकासको अभियानलाई थप सशक्त बनाउन अनुरोध गरेको छ।














प्रतिक्रिया दिनुहोस्