रामेछाप, साउन ८ । दुर्गम पहाडी भूगोलका कारण वर्षायाम लाग्नासाथ सडक अवरुद्ध हुने समस्या रामेछापका धेरै गाउँको साझा चुनौती हो। तर, लिखु तामाकोशी गाउँपालिका–२ सैपुमा भने जनप्रतिनिधि र स्थानीयवासीको निरन्तर मेहनतले यो चुनौती बिस्तारै समाधानतर्फ उन्मुख भएको छ।
वर्षौँसम्म आफैँ गल, गैँची र साबेल बोकेर सडक निर्माण तथा मर्मतमा खटिनुभएका वडाध्यक्ष सन्तोष पौडेल सहितका जनप्रतिनिधिको सक्रियताले अहिले सैपुका मुख्य सडकहरू बाह्रै महिना सञ्चालनयोग्य बन्दै गएका छन्। वडाध्यक्ष पौडेलले आफूहरू निर्वाचित भएदेखि नै सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो। उहाँका अनुसार धोबी–सिरिसे–ढाँडे, धोबी–दिलौरी–वडा कार्यालय–ढाँडे तथा धोबी–दिलौरी–वडा कार्यालय–दुरागाउँ सडक यस वडाका प्रमुख सडक हुन्।
यी सडकहरू वर्षायाममा पनि सञ्चालनमा राख्न जनप्रतिनिधि र स्थानीयवासीले प्रत्येक वर्ष श्रमदान गर्दै आएका छन्। सडक बिग्रिएपछि केवल बजेटको प्रतीक्षा नगरी आफैँ श्रममा जुट्ने परम्पराले सैपुको विकास यात्रालाई फरक बनाएको वडाध्यक्ष पौडेलको भनाइ छ। “हामी निर्वाचित भएपछि सडकलाई प्राथमिकतामा राख्यौँ। धेरै मेहनत गर्यौँ, आफैँ ढुङ्गा बोक्यौँ, गल, गैँची र साबेल चलायौँ,” उहाँले भन्नुभयो।

उहाँका अनुसार स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा सडक स्तरोन्नति, ग्राभेल, नाला निर्माण तथा अप्ठ्यारो मोडहरूमा ढलान गरिएकाले अहिले सडकको अवस्था उल्लेखनीय रूपमा सुधारिएको छ। त्यसको प्रत्यक्ष प्रभाव स्वरूप सैपुका तीनवटै मुख्य सडकमा बाह्रै महिना सवारीसाधन सञ्चालन हुन सक्ने वातावरण बनेको छ।
काठमाडौंबाट ओखलढुंगाको लिखु किनार क्षेत्रतर्फ जाने यात्रुका लागि पनि यी सडक महत्त्वपूर्ण भएकाले सडक अवरुद्ध हुँदा ठुलो सङ्ख्यामा सर्वसाधारणले सास्ती बेहोर्नुपर्ने अवस्था रहँदै आएको थियो। यही आवश्यकतालाई मध्यनजर गर्दै वडा कार्यालयले सडकलाई उच्च प्राथमिकतामा राखेर निरन्तर काम गरेको उहाँले बताउनुभयो।

वडाध्यक्ष पौडेलका अनुसार सडक र विद्युत् ग्रामीण विकासका आधारभूत पूर्वाधार भएकाले त्यसको विस्तार र स्तरोन्नतिमा वडा कार्यालयले विशेष ध्यान दिँदै आएको छ।
आफूहरू निर्वाचित भएर आउँदा सडकको अवस्था निक्कै नाजुक भएको वडा सदस्य केशरबहादुर कार्की बताउनु हुन्छ । वर्षाको समयमा यातायात चल्न निक्कै अप्ठेरा भएको सो समयमा युवाहरूलाई समेत साथमा लिएर आफूहरूले धेरै श्रमदान गरेको उहाँले बताउनुभयो ।
जनप्रतिनिधिको प्रतिबद्धता, स्थानीयवासीको श्रमदान र तीनै तहका सरकारको सहयोगले सैपुका सडक अझै पूर्ण रूपमा सुविधा सम्पन्न नभए पनि वर्षभरि सञ्चालनयोग्य बन्न थालेका छन्। यसले स्थानीयवासीको दैनिक आवतजावत सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्न थालेको छ।












प्रतिक्रिया दिनुहोस्