काठमाडौं, साउन ९। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय रहेकाले आज विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागले केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेकाे छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ। यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहनेछ भने मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।
विभागका अनुसार देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान, कोशी प्रदेशको तराई, मधेश प्रदेशका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। यसैगरी बागमती, गण्डकी तथा कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसम विभागले निरन्तरको वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्न सक्ने, बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयजस्ता प्राकृतिक विपद्को जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। यस्ता मौसमीय गतिविधिका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले विभागले आफ्नो पछिल्लो मौसम बुलेटिन नियमित रूपमा अद्यावधिक गरी सुरक्षित रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।














प्रतिक्रिया दिनुहोस्