काठमाडौं, साउन ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको आन्तरिक विवादका कारण स्थगित भएको जिल्ला अधिवेशन आगामी साउन २२ गते आयोजना हुने भएको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न निर्देशन दिएसँगै जिल्ला अधिवेशनको नयाँ मिति तय गरिएको हो।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार जिल्ला अधिवेशन चौतारामा साउन २२ गते सम्पन्न हुनेछ। आयोगले जिल्ला अधिवेशनअघि लिसंखुपाखर गाउँपालिकाको अधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्न पनि निर्देशन दिएको छ।
आयोगले यसअघि स्थगित भएको चरणबाटै निर्वाचन प्रक्रिया पुनः सुरु गरी जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको जनाएको छ।
जिल्ला सभापति पदका लागि पासाङ तामाङ, दिलमान श्रेष्ठ, जेपी सिलवाल, चक्रपाणि सिग्देल र कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराइसक्नुभएको छ। जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिने र त्यसका लागि निर्वाचन प्रक्रिया पूर्वनिर्धारित चरणबाटै अघि बढाइने आयोगले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्