जनता टाइम्स

९ श्रावण २०८३, शनिबार १५:३१

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा


काठमाडौं, साउन ९ । आन्दोलन चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको छ । राष्ट्रिय योग्यता परीक्षा (नीट) को प्रश्नपत्र लिक भएको प्रकरणमा सोमबारदेखि आन्दोलन चर्किएपछि शिक्षामन्त्री प्रधानले शनिबार राजीनामा दिनुभएको हो ।

प्रधानको राजीनामासँगै प्रधानमन्त्री नरेन्द्र मोदीको एक भरपर्दा बिश्वाशपात्र सरकारबाट बाहिरिनु परेको छ । कक्रोच जनता पार्टी (सिजेपी)को आह्वानमा भएको प्रदर्शन दिल्लीबाट अन्य राज्यहरूमा पनि फैलिएपछि प्रधान मोदी सरकार बचाउन राजीनामा दिने निर्णयमा पुग्नुभएको हो । आन्दोलनकारीले शिक्षामन्त्री प्रधानको राजीनामा मागेका थिए।

विद्यार्थी आन्दोलनले चर्को दबाब सिर्जना गरेपछि प्रधानले शनिबार राजीनामा दिएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ। शुक्रबार सिजेपी प्रतिनिधिसँग सरकारले दिल्लीस्थित कन्स्टिच्युसन क्लबमा दुई घन्टा लामो वार्ता गरेको थियो।

वार्तामा सरकारका तर्फबाट केन्द्रीय मन्त्री जेपी नड्डा र राज्यमन्त्री जितेन्द्र सिंह सहभागी थिए भने सिजेपीबाट प्रवक्ताद्वय सौरभ दास र आशुतोष रांका सहभागी हुनुहुन्थ्यो । वार्तापश्चात सरकारले शिक्षामन्त्री प्रधानको राजीनामा लगायत प्रदर्शनकारीहरूले राखेको मागबारे निर्णय गर्न शनिबार दिउँसोसम्मको समय मागेको थियो ।

बैठकमा सिजेपी प्रवक्ता सौरभ दासले आफ्ना ३ मुख्य माग राख्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामामा कुनै सम्झौता नहुने अडान राख्नुभएको थियो । सिजेपीले शिक्षामन्त्री प्रधानको तत्काल राजीनामासँगै नीट प्रश्नपत्र चुहावटका कारण आत्महत्या गरेका प्रत्येक परीक्षार्थीका परिवारलाई १–१ करोड भारू क्षतिपूर्ति दिनुपर्ने र प्रदर्शन क्रममा विद्यार्थी तथा आन्दोलनकारीमाथि दर्ता गरिएका सबै जाहेरी र मुद्दा फिर्ता गर्नुपर्ने माग राखेको छ।

नीट प्रश्नपत्र चुहावट प्रकरणका कारण राजीनामा दिन बाध्य हुनुभएका शिक्षामन्त्री धर्मेन्द्र करिब तीन दशकअघि उनी आफैं प्रश्नपत्र चुहावटविरुद्धको आन्दोलनबाट उदाउनु भएको थियो । सो आन्दोलनमा सहभागी हुँदा प्रहरीको लाठीचार्जमा घाइते हनुभएको थियो ।

सन् १९९७ मा ओडिशामा भएको प्लस–टु प्रश्नपत्र चुहावटको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)ले गरेको प्रदर्शनको नेतृत्व धर्मेन्द्र प्रधानले नै गर्नुभएको थियो । राज्य सचिवालयअगाडि भएको उक्त प्रदर्शनमा प्रहरीको लाठीचार्ज हुँदा प्रधानसहित ६४ जना कार्यकर्ता घाइते हुनुभएको थियो ।

त्यस घटनाको २९ वर्षपछि, जुलाई २०, २०२६ मा, नीट प्रश्नपत्र चुहावट प्रकरणमा धर्मेन्द्र प्रधानकै राजीनामा माग्दै संसदतर्फ मार्च गरिरहेका विद्यार्थीमाथि पनि प्रहरीले लाठीचार्ज गरेको छ, जसमा धेरै प्रदर्शनकारी घाइते भएका छन्।

धर्मेन्द्र प्रधानको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो। उहाँ राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को विद्यार्थी संगठन एबीभीपीसँग आबद्ध हुनुहुन्थ्यो । सोही क्रममा तालचेर कलेज विद्यार्थी संघका अध्यक्ष बन्नुनभएका धर्मेन्द्र त्यसयता राजनीतिमा निरन्तर उकालो चढनुभएको थियो । उहाँको उकालो यात्रा शनिवार ब्रेक लागेको छ ।