जनता टाइम्स

१२ श्रावण २०८३, मंगलवार ११:२२

स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको निर्देशन, चिकित्सकमाथिको आक्रमणमा कानुनी कारबाही गर्ने बचन 


काठमाडौं, साउन १२ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमण र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उपचार सेवा नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको हो।

चिकित्सकमाथि भएका आक्रमणको विरोध स्वरूप मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका अधिकांश सेवा बन्द गरिएका छन्।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा मंगलबार जारी विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर चासो रहेको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक तथा संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै प्रकारको अवरोध आउन नहुने स्पष्ट पार्दै सबै अस्पताललाई सेवा नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र मर्यादित वातावरणमा सेवा प्रदान गर्न पाउनु उहाँहरूको मौलिक अधिकार भएको उल्लेख गरिएको छ। साथै नागरिकको उपचार सेवामा कुनै अवरोध नपुर्‍याई स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबै स्वास्थ्य संस्थासँग मन्त्रालयले अपिल गरेको छ।