जनता टाइम्स

१२ श्रावण २०८३, मंगलवार २१:४०

गुरु पूर्णिमा विशेष : मानवताको बाटो उज्यालो बनाइरहोस


गुरु भन्नु केवल ज्ञान दिने व्यक्ति होइन,
जीवनलाई सही दिशा दिने उज्यालो दीप हुनुहुन्छ ।
पूर्णिमाको उज्यालो चन्द्रमा झैँ,
तपाईंको ज्ञानले मन उज्यालो बनायो ।

जीवन विज्ञानको अमृत वर्षाई,
सत्य र प्रेमको बाटो देखायो ।
योगका सरल आसनसँगै,
मनलाई शान्त बनाउने कला सिकायो ।

ध्यानको गहिराइमा डुब्न सिकाई,
आफ्नै अस्तित्व चिनाउने साहस दिलायो ।
निराश मनमा आशाको ज्योति,
भड्किएका पाइलामा सही दिशा ।

क्रोधलाई करुणामा बदल्ने मन्त्र,
अहंकारलाई नम्रतामा बदल्ने शिक्षा ।
तपाईंका प्रत्येक शब्द प्रेरणा हुन्,
प्रत्येक मुस्कान आत्मीयताको आभा ।

तपाईंको स्नेहिल मार्गदर्शनले,
जीवनलाई दिएको छ नयाँ परिभाषा।
जीवन विज्ञानले सिकाएको सन्देश—
प्रेम गरौँ, सेवा गरौँ, मुस्कुराऔँ ।

आफू बदलिऔँ, संसार बदलाऔँ,
मानवताकै मार्गमा अघि बढौँ।

आदरणीय सुनिता गुरु,
तपाईंको समर्पण, धैर्य, सेवा र करुणाले
असंख्य हृदयमा सकारात्मकताको बीउ रोपेको छ ।
हामी तपाईंप्रति सदैव कृतज्ञ रहनेछौँ।
गुरु पूर्णिमाको यस पावन अवसरमा,
हामी श्रद्धाका साथ नतमस्तक छौँ ।

ईश्वरले तपाईंलाई सुस्वास्थ्य, दीर्घायु,
अक्षय ऊर्जा र निरन्तर सेवा गर्ने शक्ति प्रदान गरून्।
तपाईंको ज्ञानको प्रकाश
सधैँ यसरी नै फैलिरहोस्,
मानवताको बाटो उज्यालो बनाइरहोस्।

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः।
आदरणीय जीवन विज्ञान योग गुरु सुनिता गुरुप्रति हार्दिक श्रद्धा, सम्मान र कृतज्ञता ।
गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना !

(गुरु पूर्णिमा विशेष : जीवन विज्ञान योग गुरु आदरणीय सुनिता गुरुप्रति सादर समर्पित)