जनता टाइम्स

७ पुष २०७६, सोमबार ११:३२

चावहिल दुर्घटना : एउटा बसले दियो ठक्कर अर्को बसमा आगजनी


काठमाडौं, पुष ७

आक्रोशित भिडको आखा हुँदैन भनेर चावहिलमा भएको सोमबार विहानको घटनाले पुष्टि गरेको छ । काठमाडौंको चावहिलमा सोमबार बिहान एउटा गाडीले पशुपति क्याम्पस चावहिलमा बीबीएस चौथो वर्षमा अध्ययनरत सृष्टि पन्तलाई ठक्कर दियो । ठक्करबाट गम्भिर घाइते भएकी २१ वर्षिय पन्तको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

विद्यार्थीका अनुसार ठक्कर दिएपछि गाडी रोकिएन, अघि बढ्यो । पन्त अध्ययनरत पशुपति क्याम्पसमा विद्यार्थी आक्रोशित हुँदा उनिहरुले क्याम्पस अगाडि सडकमा गुड्दै गरेका जुन गाडी भेटे सोहीमा तोडफोड र आगजनी गरे ।

प्रहरीका अनुसार पन्तलाई बा ७ ख ५९३० नम्बरको गाडीले ठक्कर दिएको थियो । तर, विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन् । आगजनीको आरोपमा प्रहरीले चेतन थापा मगर र राकेश श्रेष्ठलाई पक्राउ गरेको छ । अहिले सो क्षेत्र शान्त रहेको र सवारी आवागमन सुचारु रहेको प्रहरीले बताएको छ ।