जनता टाइम्स

७ पुष २०७६, सोमबार १२:२५

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको जनगणना गर्न माग


परासी, पुस ७

अधिकारकर्मी पुष्पा लामाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आफ्नो पहिचानअनुसारको नागरिकता, रोजगारीलगायतमा समस्या रहेको भन्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको जनगणना गर्नसमेत माग गर्नुभएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक दिवसको अवसरमा सशक्तीकरण नेपाल नवलपरासीद्वारा आइतबार परासीमा आयोजित कार्यक्रममा उहाँले यस्तो माग गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा राससका समाचारदाता मोहन पौडेल, रुपन्देहीका सञ्चारकर्मीद्वय रीमा बिसी र झविन्द्र देवकोटा तथा रेडियो परासी, परासीलाई यस वर्षको ‘सशक्तीकरण सम्मान’ समेत प्रदान गरिएको थियो । रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका आवाज सञ्चारमाध्यममार्फत उजागर गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने चर्चा गर्नुभयो ।

सशक्तीकरण नेपालका अध्यक्ष आनिक रानाले भन्नुभयो, “पत्रकार र सञ्चारमाध्यमबाट हाम्रा आवाज जनसमुदाय समक्ष पुग्न थालेपछि हामीलाई समाजमा खुल्न सहज भएको छ । हाम्रो बारेमा रहेको नकरात्मक बुझाई परिवर्तन भई सकारात्मक बुझाई हुन थालेको छ ।”