जनता टाइम्स

७ पुष २०७६, सोमबार १४:२३

चिसोबाट जोगिन बेँसी झर्दै….


प्रेम रौल / मार्तडी

जिल्लामा वर्षासँगै हिमपात भए पनि यहाँका जनजाति समुदायका मानिस बेँसीतिर झर्न थालेका छन् । गर्मीयाम शुरु भएसँगै लेकाली भेगमा जाने स्थानीयवासी चिसो शुरु भएपछि अधिकांश भेडापालन व्यवसाय गर्दै आएका उनीहरु अछाम लगायतका जिल्लामा झर्ने गरेका छन् । बर्सेनि उनीहरुले भेडापाठालाई लेक र बेँसीमा लाने गरेका छन् ।

गर्मी छल्नका लागि लेकाली भेगमा गएका स्थानीयवासी चिसो बढ्न थालेकाले उनीहरु यतिखेर भने बेँसीमा धमाधम जान थालेको बूढीनन्दा नगरपालिकाका स्थानीयवासी लोकेश गुरुङ ‘भोटे’ले बताउनुभएको छ । उहाँले भन्नुभयो, “चिसोको समयमा लेकाली भेगमा बस्दा भेडापाठालाई चरीचरनमा समस्या हुने गर्छ, गर्मी मौसममा बेसीमा चरिचरनका लागि समस्या हुने गरेकाले बर्सेनि लेकमा र बेँसीमा आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।”

लेकाली भेगका मानिसहरु साथमा विद्यालयमा जाने उमेरका बालबालिकालाई पनि साथमा लिएर जाने गरेका छन् । आफूलाई खान–बस्नका लागि भेडापाठाको पिठ्यूँमा नुन, तेल, चामललगायत खाद्यान्न सामग्री लिएर जाने गरेको वीरबहादुर गुरुङले बताउनुभएको छ । बेँसीमा बस्दा भेडापाठाहरुलाई चरिचरन गर्नका लागि प्रतिभेडाको एक सयभन्दा बढी शुल्क तिर्नुपर्ने हुँदा गर्मी मौसममा लेकतिर र चिसो मौसममा बेँसीतिर जाने गरेको गुरुङले बताउनुभयो ।

लेकाली भेगमा भने उनीहरु जडीबुटी ओसारपसार गर्ने गर्दछन् । गर्मीको मौसममा बाजुराबाट चीनको सिमाना र हुम्लाको हिल्सा तथा यारीमा पुग्ने गरेका गुरुङको भनाइ थियो । उनीहरुलाई चीन जान भने अनुमति छैन । भेडापाठासहित आठ घरपरिवार लेकाली भेगबाट बेँसीमा झरेको लोकेश गुरुङले बताउनुभयो । भेडापाठा र घरपरिवारसँगै दुई महिनापछि मात्र लेकबाट बेसीमा पुग्ने गरेको गुरुङको भनाइ छ ।

हिमाली निमावि कक्षा ७ मा पढ्दै गरेकी शान्ति गुरुङ पनि भेडापाठा लिएर बँेसी गएकी छन् । विद्यालयमा पढाइ सञ्चालन भए पनि चिसोबाट जोगिन बेसी गएको उनको भनाइ थियो । उनी भन्छिन्, “समाजको संस्कारअनुसार चल्नुपर्ने भएकाले पढाइ छोडेर पनि लेक र बेँसी जानुपर्ने बाध्यता छ।” यस्तै पाण्डुसैनका भीमबहादुर गुरुङको छोरा कमल गरुङ विद्यालयमा पढाइ छोडेर बेँसीमा भेडापाठासँग गएका छन् ।

बेँसी जान महिलाहरुले एकाबिहानै पिठ्यूँमा स–साना बच्चाहरु बोक्छन् भने ठूला र पुरुषले आफूलाई चाहिने सामग्री बोकेर लैजाने गरेका भीमबहादुर गुरुङले बताउनुभयो । उक्त समुदायका मानिसले बालबालिकासहित भेडापाठा लेक र बेँसी गर्दै दिनचर्या बिताउनु परेको नेपाल भोटे जनजाति महासङ्घ बाजुराका अध्यक्ष गम्भीरसिंह गुरुङले बताउनुभयो ।जनजातिको मुख्य पेशा नै भेडापालन रहेकाले कतिपयका बालबालिका शिक्षाबाट वञ्चित हुने गरेको अध्यक्ष गुरुङको दाबी रहेको छ ।

जिल्लाको हिमाली गाउँपालिका, बूढीनन्दा नगरपालिका र बडीमालिका नगरपालिकामा गरी पाँच सयभन्दा बढी परिवार बसोबास गर्दै आइरहेका छन् । पछिल्लो समयमा कतिपय जनजाति समुदायका मानिसहरुले भेडापालन व्यवसाय छोडेर मार्तडी र कोल्टी बजारमा व्यापार–व्यवसाय गर्दै आइरहेको जनजाति महासङ्घ बाजुराले जनाएको छ । भेडापालन व्यवसायबाट आम्दानी नहुने भएपछि पेशा नै परिवर्तन गर्नु परेको सदरमुकाम मार्तडीमा बस्दै आउनुभएका ओमकार बोगटी ‘भोटे’ले बताउनुभयो । रासस