जनता टाइम्स

७ पुष २०७६, सोमबार १४:४८

नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना


मनिला, पुस ७

नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ । राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरु मध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् ।

रक्सी सेवन गरेपछि उनीहरुले सुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिनुभयो । रक्सी सेवनका कारण बिरामी भएका ३ सय जना अस्पतालमा भर्ना भएका उहाँले बताउनु भयो । उनीहरु सवैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाई छ ।

क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ । बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडी पारिएको समुदायका हुने गरेका छन् । पछाडी पारिएको अशिक्षित समूदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरुको भनाई छ ।