जनता टाइम्स

७ पुष २०७६, सोमबार १५:०१

पदबहालीमै कठोर रुपमा प्रस्तुत भए डिआइजी पोखरेल


काठमाडौं, पुस ७ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा हुनुभएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले आजदेखि कार्यभार सम्हाल्नुभएको छ । आज बिहान महानगरीय प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रमबीच डीआईजी पोखरेलले महानगरीय प्रहरी प्रमुखको पदभार ग्रहण गर्नुभएको हो ।

महानगरीय प्रहरी कार्यालयमा काठमाडौं प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी, महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापा, ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईलगायतका अधिकृतहरुले डीआईजी पोखरेललाई स्वागत गर्नुभएको थियो । एसएसपी सुवेदी र थापा डिआइजी पोखरेलका ब्याचमेट समेत हुनुहुन्छ । पदभार ग्रहणपछि डीआईजी पोखरेलले सुशासन र कानून कार्यान्वयनमा सून्य सहनशीलताको नीति रहने प्रष्ट पार्नुभयो । अपराध नियन्त्रण र नागरिकको चाहनाअनुसारको प्रहरीको ब्यवहारमा पनि आफूले कुनै पनि कसर बाँकी नराख्ने डिआइजी पोखरेलले अठोट गर्नुभयो ।

डीआईजी पोखरेलले आफूले जनताले शान्ति सुरक्षाको महसुस गर्ने गरी काम गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । उहाँले प्रहरी कर्मचारी कुनै पनि गलत काममा फेला परे कडा कार्वाही गर्ने भन्दै बर्दीमा दाग लाग्ने कुनै काम नगर्न निर्देशन दिनुभयो । यस्तै आफू मातहतका प्रहरी कर्मचारीलाई प्रहरीको यही नीतिअनुसार हिडाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको कार्यक्रममा सहभागी एक अधिकृतले जनताटाइम्सलाई बताए ।

प्रहरी महानिरीक्षकको सचिवालयमा रही नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहनुभएका पोखरेललाई केही दिन अघि गृहमन्त्री स्तरीय निर्णयबाट महानगरीय प्रहरी कार्यालय प्रमुखमा सरुवा गरिएकोथियो ।