जनता टाइम्स

७ पुष २०७६, सोमबार १५:२७

पीपीएल : धनगढी एक्सपर्ट विजयी


पोखरा, पुस ७

कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा आज भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो । पोखरा रङ्गशालामा आज भएको खेलमा टस जितेर पोखरा पल्टनले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरको खेलमा पोखराले १६ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रन बनायो ।

धनगढीका अमित यादवले सर्वजित लद्दाको बलमा छक्का प्रहार गरी नौ दशमलव एक ओभरमा आफ्नो टोलीलाई विजयी बनाउनुभयो । धनगढीका लागि दिपक पुनियाले २५, रोड्रिगो थोमसले १५, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ तथा शुभेन्दु पाण्डेले ११ रन बनाउनुभयो । बलिङतर्फ पोखराका प्रथमेश डाके र सर्वजित लद्दाले दुई÷दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिनुभयो ।

यसअघि ब्याटिङ गर्ने क्रममा पोखराका लागि आशिफ शेखले ३२ तथा विनोद भण्डारीले १२ रन बनाउनुभयो । बलिङतर्फ धनगढीका अनिल खरेलले तीन तथा दिपक पुनिया, कमलसिंह ऐरी र सागर ढकालले दुई/दुई विकेट लिनुभयो । खेलको प्लेयर अफ दी म्याच धनगढीका दिपक पुनिया घोषित हुनुभयो ।