जनता टाइम्स

१८ श्रावण २०८३, सोमबार १८:२९

कोशीको मुख्यमन्त्री फेर्ने पार्टी निर्णय लागू गरेरै छाडने इञ्चार्ज शेरधनको घोषणा, सुनाए यस्ता योजना


काठमाडौं, साउन १८ । नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मुख्यमन्त्री फेर्ने पार्टी निर्णय भइसकेको खुलासा गर्नुभएको छ । बिराटनगरमा सोमवार पत्रकारसँग कुराकानी गर्दै इञ्चार्ज राईले यस्तो तथ्य खोल्नुभएको हो ।

पार्टीका प्रदेश सांसदहरूसँगको बैठकअघि पत्रकारसँग कुरा गर्दै राईले हिक्मत कार्की नै निरन्तर रहने कि अरुलाई मुख्यमन्त्री बनाउने भन्ने विषय पार्टीको आन्तरिक कुरा भएको बताउनु भयो । नेकपासँगको ३ बुँदे सहमतिअनुसार प्रदेश सरकार एमालेकै नेतृत्वमा पुनर्गठन हुने उहाँले बताउनु भयो ।

पार्टी अध्यक्षको निर्देशन र तीन बुँदे सहमति कार्यान्वयन गर्ने क्रममा केही संवैधानिक र प्राविधिक जटिलता देखिएको राईको भनाइ छ । ‘म पार्टीको सचिव हो, कोशी प्रदेशको इन्चार्ज पनि हो। पार्टीको इन्चार्ज भएका हिसाबले म कहिले पनि व्यक्तिगत कुरा गर्दिनँ । अहिले पनि पार्टीको कुरा गरिरहेको छु,’ राईले भन्नुभयो, यत्ति भन्छु, पार्टी निर्णय कार्यान्वयन हुन्छ, गरेरै छाडछू ।’

राईले एमालेको नेतृत्व हुने भएकोले ब्यक्तिको बिषयमा नजाने पनि बताउनु भयो । मुख्यमन्त्रीको विषय पार्टीको आन्तरिक भएको भन्दै पार्टीको निर्देशन तथा आदेश अनुसार नै संसदीय दल र सिंगो पार्टी चल्ने राईको भनाई छ । उहाँले कुराकानीको क्रममा मुख्यमन्त्री हिक्मत कार्कीसँग व्यक्तिगतरूपमा कुनै विवाद नभएको भन्दै उनले ३२ वर्षदेखि सम्बन्ध र सहकार्य हुँदै आएको बताउनु भयो ।

म पार्टीको सचिव हो, कोशी प्रदेशको इन्चार्ज पनि हो। पार्टीको इन्चार्ज भएका हिसाबले म कहिले पनि व्यक्तिगत कुरा गर्दिनँ । अहिले पनि पार्टीको कुरा गरिरहेको छु । यत्ति भन्छु-पार्टी निर्णय कार्यान्वयन हुन्छ, गरेरै छाडछू

‘वैचारिक सैद्धान्तिक मामलामा हामी फरक ठाउँमा छौँ, न त हाम्रो बीचमा कुनै द्वन्द्व छैन । म मुख्यमन्त्री हुँदा उहाँ आन्तरिक मामिला मन्त्री हुनुहुन्थ्यो, अहिले उहाँ मुख्यमन्त्री हुनुहुन्छ, हाम्रो बीचमा कुनै समस्या छैन । सवाल पार्टीको हो व्यक्तिको कुरा हैन । शेरधन र हिक्मतको द्वन्द्व बढेको प्रचार भइरहेको छ,’ सचिव राईले भन्नुभयो ।

पछिल्लो समय एमाले कोशीमा मुख्यमन्त्रीको बिषयमा लफडा चर्किएको छ । अध्यक्ष केपी शर्मा ओलीले कार्कीले लामो समय सत्तामा रहने अवसर पाएको भन्दै तिलकुमार मेयाङबोलाई मुख्यमन्त्री बनाउने निर्णय लिनुभएको छ भने महासचिव शंकर पोखरेलले मुख्यमन्त्रीमा हिक्मत कार्की नै कायम रहिरहनुपर्ने अडान राख्नुभएको छ ।

यता इञ्चार्ज राई भने कार्कीलाई बिदा दिनुपर्ने पक्षमा उभिनुभएको छ । राईकै अडानका कारण ओलीले कार्की फेर्ने निर्णय गर्नुभएको हो । कोशीमा एमाले सचिव रहेका दुवै नेता पछिल्लो समय एकअर्काप्रति निकै कटु आलोचकका रुपमा देखिनुभएको छ ।