जनता टाइम्स

२० श्रावण २०८३, बुधबार ००:१०

अर्थमन्त्रीसामू खुले बैंकर : पक्राउको प्रतिवाददेखि दिए लगानीको बातावरण बनाउनेसम्मका थरिथरि सुझाव


काठमाडौं, साउन १९ । बिभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरूले नेपालमा लगानीको वातावरण नभएको भन्ने बाहिरी हल्लामा कुनै सत्यता नरहेको बताएका छन ।

अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मंगलवार आयोजना गरेको छलफलमा बाणिज्य बैंकका सिईओहरुले एकस्वरमा यस्तो तथ्य सुनाएका हुन । उनीहरुले बैंकिङ क्षेत्रलाई अहिले केही पुराना नियामकीय उपचारहरूले स्वाभाविक रूपमा अप्ठ्यारो परिस्थितिमा पुर्याएको भए पनि त्यो समाधान गर्न सकिने खालको रहेको जानकारी पनि गराएका छन ।

जलविद्युत् क्षेत्रमा लगानीका लागि बैंकहरूबीच प्रतिस्पर्धा चलिरहेको भन्दै बैंकरहरूले अन्य क्षेत्रमा पनि बिस्तारै माग बढ्ने संकेत देखिएको तथ्य राखे । केही सहजीकरणका कामहरू सरकारले र राष्ट्र बैंकले तत्काल गर्नुपर्ने खालका रहेका भन्दै उनीहरूले त्यसले अर्थतन्त्रलाई चलायमान बनाउने सुझाव दिए ।

छलफलमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्षसमेत रहनुभएका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जलविद्युत क्षेत्रमा बढेको लगानीको आकर्षणलाई थप सहजीकरण गर्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

ठूला परियोजनाहरूलाई समयमै सक्ने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिँदै अध्यक्ष कोइरालाले साना–ठूला व्यवसायीलाई विश्वासमा लिएर सरकारले काम गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

छलफलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ज्योतिप्रकाश पाण्डेले जलविद्युतजस्तै खाद्यान्न र निर्माण क्षेत्रमा पनि छिट्टै माग बढ्ने अवस्था देखिएको बताउनु भयो । सिईओ पाण्डेले जबर्जस्ती मर्जरको मारमा परेका बैंकहरूलाई अहिले लगानी विस्तारमा समस्या भएको तथ्यसमेत राख्नुभयो । कर्जा नतिर्ने समस्याबाट बैंकहरू पीडित भएको भन्दै सिईओ पाण्डेले त्यसका लागि सरकारबाट सहयोग अपेक्षित रहेको बताउनु भयो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले खराब ऋणमाथिको प्रोभिजनको नीति परिवर्तन गर्नुपर्ने तथ्य औंल्याउनु भयो । सिईओ ज्ञवालीले कालोसूचीमा चेक अनादर र ऋण दुवैथरीका मानिस अत्यधिक रहेको भन्दै यो समस्याको उचित समाधान नभएको बताउनु भयो ।

यस्तै ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले बजारमा व्यवसायीको आत्मविश्वासमा आएको कमीलाई सम्बोधन गर्न सरकारलाई सुझाउनु भयो । सिईओ रेग्मीले बैंकको ऋण दिने क्षमता वृद्धि गर्न राष्ट्र बैंकले नीतिगत सहजीकरण गर्नुपर्ने सुझाव दिँदै सरकारले स्थापना गर्ने भनेको गैरबैंकिङ सम्पत्ति व्यवस्थापन कम्पनी छिट्टै खुल्नेमा आफूहरु बिश्वस्थ रहेको बताउनु भयो ।

एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कर्जा विस्तार ग्रामीण तथा विपन्न वर्गसम्म लैजानुपर्नेमा जोड दिनुभयो । सरकारले पुँजीगत खर्च बढाउनुपर्ने भन्दै सिईओ खालिङले अर्थतन्त्र चलायमान गराउने सरकारी कार्यालयहरूको क्षमता अभिवृद्धिमा बिशेष जोड दिनुभयो ।

यसैगरी हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले उद्योगी–व्यवसायीहरू नयाँ आर्थिक वर्षमा लगानीका लागि उत्सुक रहेकोले सरकारले सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो । ‘उद्योगी–व्यवसायीहरू नयाँ वर्षका लागि आफ्नो लिमिट नाग्छ कि लाग्दैन भन्दै सोध्न आउन थाल्नुभएको छ, यो शुभ संकेत हो,’ सिईओ राणाले भन्नुभयो ।

यस्तै सिटिजन्स इन्टरनेसनल बैंकका कार्यकारी अधिकृत गणेश पोखरेलले बैंकिङ क्षेत्रको अहिलेको सुस्ततालाई नियमित र एउटा चक्रको रूपमा बुझ्नुपर्ने बताउनु भयो । ‘जलविद्युत्मा लगानी खोज्न मारामार छ । बाहिर देखिएजस्तो कमजोर अवस्था पनि होइन । यो एउटा चक्र हो,’ सिईओ पोखरेलको भनाई थियो ।

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले कोभिडका बेला साना व्यवसायीलाई प्रदान गरिएको कर्जामा देखिएको समस्या समाधानका लागि नीतिगत व्यवस्था आवश्यक रहेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।

शाक्यले ऋणीलाई कालोसूचीमा राख्ने र ऋणको प्रोभिजनिङ गर्ने व्यवस्थामा छिमेकी देशहरूको राम्रो अभ्यास हेरेर परिमार्जनको आवश्यकता रहेको धारणा पनि राख्नुभयो । ‘एक वर्षमै शतप्रतिशत प्रोभिजनिङ त घाँटी अठ्याउने काम हो,’ शाक्यले भन्नुभयो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत गोरखशमशेर राणाले चालू पुँजी कर्जाको सीमा पुनरावलोकनयोग्य रहेको बताउनु भयो । यस्तै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर बस्यालले बाह्य र आन्तरिक कारणहरूबाट अर्थतन्त्रमा संकुचन आएको र त्यसको असर कर्जाको गुणस्तरमा परेको बताउनु भयो । बस्यालले पनि एक वर्षमै कर्जाको शतप्रतिशत प्रोभिजनको व्यवस्थामाथि पुनरावलोकन गर्न आग्रह गर्नुभएको छ ।

नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले नेपाल र भारतको अर्थतन्त्रको तुलना गर्दै आर्थिक विकास र विस्तारका लागि सरकारले ठूला पूर्वाधारमा लगानी गर्नुपर्ने सुझाउनु भयो । यस्तै लक्ष्मी सनराइज बैंकका सीईओ अजय शाहले एसएमईजमा लगानी बढाउनुपर्ने बताउनु भएको छ । शाहले बैंक तथा व्यवसायीहरूलाई त्रसित नपार्न र विश्वासमा लिएर काम गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । शाहले रियल स्टेटमा लगानी फसेका कारण अर्थतन्त्र सुस्त भएको तथ्यसमेत राख्नुभएको छ ।

प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरले बैंक र व्यावसायिक क्षेत्रमा पछिल्लो समय बढेको धरपकडले मनोबल गिरेको धारणा राख्नुभएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डेले बैंकहरू गैरबैंकिङ सम्पत्तिले थिचिएको भन्दै यसको निकासका लागि प्रभावकारी उपाय जरुरी भएको बताउनु भयो ।

छलफलको सुरुवात गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू हातेमालो गरेर अघि बढ्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । छलफलको सुरुवात गर्दै अर्थमन्त्री वाग्लेले नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे समस्या पहिचान र समाधानका लागि मन्त्रालयले वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफल आयोजना गरेको जानकारी पनि दिनुभयो ।

अर्थमन्त्री वाग्लेले बैंकरहरूका समस्या सुन्न, समाधानका लागि सरकारी पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको फराकिलो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्न मन्त्रालयले छलफल आयोजना गरेको स्पष्ट पार्नुभयो । बैंक र बैंकरहरूलाई आफ्नो क्षेत्रको समस्या निर्धक्क भएर भन्न आग्रह गर्दै वाग्लेले सरकारले इमानदारीपूर्वक समस्याहरूको समाधान गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

‘अर्थतन्त्रको विस्तारका लागि आर्थिक राजकाजको जहाज मोडेका छौं । अर्थतन्त्रको आकार ७४ खर्बको बनाउने लक्ष्य छ । यसका लागि लगानी बढाउनुपर्छ । रोजगारी सिर्जना गर्नुछ । तपाईंहरूले कसरी सहयोग गर्न सक्नुहुन्छ, योगदान गर्नुहोस् । सरकारले पनि कहाँ–कहाँ के–के गर्नुपर्ने हो, स्पष्ट रुपमा भन्नुहोस,’ छलफलको सुरुवातमै अर्थमन्त्री वाग्लेको भनाई थियो । अर्थमन्त्री वाग्लेले बैंकरहरूलाई बैंकले भोगिरहेका नीतिगत र व्यावहारिक कठिनाइहरूलाई एकीकृत रूपमा मन्त्रालयमा पेश गर्न पनि सुझाउनु भएको थियो ।