जनता टाइम्स

७ पुष २०७६, सोमबार १८:२८

बालविवाह विरुद्ध एक हुदै सप्तरीका पुरोहितहरु


सप्तरी, पुस ७। राजविराज नगरपालिकाका धार्मिक अगुवा, पुरोहित र जातीय माइजनहरु बालविवाह विरुद्ध एक हुने भएका छन् । राजविराज नगरपालिकामा सम्पन्न एक कार्यक्रममा सहभागिहरुले २० वर्ष मुनिको जोडीलाई विवाह नगराउने प्रतिवद्धता जाहेर गरेका छन् ।

युकेएडको आर्थिक सहयोगमा भिएसओ र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन-उत्थान केन्द्र लहानले सहज परियोजना संचालन गरेपछि उनीहरु समाज रुपान्तरणमा अगाडी बढ्ने अग्रसरता देखाएका हुन् ।

राजविराज नगरपालिकामा आयोजित सम्वाद कार्यक्रममा सहभागि धार्मिक अगुवा, पुरोहित तथा जातीय माइजनहरु सो चुनौति विरुद्ध एकवद्ध भएका हुन् । समाजको मौन स्वीकृतिमा हानिकारक सामाजिक मुल्य मान्यताले निरन्तरता पाइरहेको ठहर गर्दै समाजमा दिनप्रति दिन हिंसाका घटना बढेको प्रति सामाजिक अगुवाहरुले चिन्ता समेत व्यक्त गरेका छन् ।

राजविराज नगरपालिका उपप्रमुख साधना झाले हानिकारक सामाजिक मुल्य मान्यताका कारणले समाजमा बाल विवाह र महिला माथि हिंसाको घटना हुने गरेको बताउनुभयो । नगरमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि सचेतना कार्यक्रम प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । बाल विवाहमुक्त नगर बनाउन नगरपालिकाले पहल गरिरहेकोले त्यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

समाजमा बढ्दै गएको हानिकारक सामाजिक मुल्य मान्यता विरुद्ध सप्तरी जिल्लास्थित राजविराज नगरपालिकाका धार्मिक अगुवा तथा जातीय माइजनहरु अग्रसर भएका हुन् ।

करिक २५ जना धार्मिक अगुवा, जातीय माइजन, पुरोहित र जनप्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रमका अध्यक्ष राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु यादवले बाल विवाह लगायतका हानिकारक सामाजिक मुल्य मान्यता विरुद्ध सशक्त भएर लाग्ने बताउनुभयो ।