हेटौंडा, साउन २० । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
प्रहरीका अनुसार बुधबार राति करिब २ः३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते हुनुभएको छ। उहाँको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते हुनुभएको थियो। दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा बिहान ९ः१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार रहेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्