जनता टाइम्स

२० श्रावण २०८३, बुधबार १३:१९

अर्थमन्त्रीको बटमलाइन : राष्ट्र बैंकले आफ्नो भूमिकालाई पुनः परिभाषित गर्नुपर्छ


काठमाडौं, साउन २० । अर्थमन्त्री डााक्टर स्वर्णिम वाग्लेले राष्ट्र बैंकले आफ्नो भूमिकालाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । बुधवार मन्त्रालयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो निचोड सुनाउनु भएको हो ।

चालु आर्थिक वर्षको बजेट सामान्य वार्षिक कार्यक्रम मात्र नभई आर्थिक सुधार र संरचनागत रुपान्तरणको मार्गचित्र भएको भन्दै अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकले आफ्नो भूमिकालाई पुनः परिभाषित गर्नुपर्ने जरुरी भइसकेको बताउनु भयो । उहाँले राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा मात्र नभई आर्थिक रुपान्तरणको ‘सहयात्री र सह–निर्माता’ का रूपमा हेर्न चाहेको बताउनु भयो ।

सरकारका तर्फबाट कानून संशोधन र संस्थागत सुधारका प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले मौद्रिक पक्षबाट पनि सोही अनुरूपको गति र स्पष्टता आवश्यक रहेको बताउनु भयो । उहाँले छलफलमा उठेका विषयहरूलाई कार्ययोजनामा रुपान्तरण गरिने र आवश्यक परे नीतिगत समन्वयका लागि संयुक्त कार्यदल गठन गरिने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

अर्थमन्त्री वाग्लेले मंगलवार बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरूसँग लामो छलफल गरेपछि बुधवार राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग यस्तो बटमलाइन सुनाउनु भएको हो । बाणिज्य बैंकका सिईओहरूले लगानीको बातावरण बनाउने र बैंकरलाई राष्ट्र बैंकभन्दा बाहिर प्रहरी लगाएर धरपकड गर्ने, पक्राउ गरी सामाजिक मानमर्दन गर्ने काम रोक्नुपर्ने बटमलाइन सुनाएका थिए ।

यसैगरी उहाँले मुलुकको आर्थिक रुपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताउनु भयो । निजी क्षेत्रले केवल सहुलियत मात्र नभई स्पष्ट नीति, स्थिर नियम, शीघ्र निर्णय र विश्वसनीय कार्यान्वयन खोजिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सरकारको सोच, प्राथमिकता र कार्यसम्पादन एउटै दिशामा उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

विगत एक दशकको आर्थिक समीक्षा गर्दै अर्थमन्त्री वाग्लेले नीतिगत निर्णयहरू भएपनि कार्यान्वयनको चरणमा अपेक्षित परिणाम आउन नसक्नुका कारण खोज्नुपर्ने निश्कर्ष पनि उहाँको थियो ।

छलफलका क्रममा उहाँले राष्ट्र बैंकसँग विभिन्न नीतिगत पहलका लागि सुझाव समेत माग्दै उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह वृद्धि, बैंकिङ प्रणालीको अधिक तरलतालाई रोजगारी र उद्योगमा रुपान्तरण, तथा पुँजी बजार र वास्तविक अर्थतन्त्र बीचको स्वस्थ सम्बन्ध निर्माणका विषयमा चासो राख्नुभएको थियो ।
यसैगरी डिजिटल वित्त, फिनटेक, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणहरूलाई सहज बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

‘किन निजी क्षेत्र क्रमशः प्रतिरक्षात्मक बन्दै गयो ? किन बैंकमा तरलता हुँदाहुँदै पनि उद्योगमा कर्जा पुग्न सकेन ? र किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेन ? हामी समस्या व्यवस्थापन गर्ने नियामक मात्रै हौँ कि समस्या समाधान गर्ने नियामक पनि हौँ रु हाम्रो नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ कि प्रोत्साहन गरिरहेको छ ?’ अर्थमन्त्री वाग्लेले भन्नुभयो, ‘यी बिषयहरूमा गम्भीर आत्मसमीक्षा आवश्यक छ ।’ उहाँले एकै लय र आत्मबिश्वाशका साथ अघि बढदा आर्थिक लक्ष्य हासिलमा कुनै बाधा नहुने आफ्नो निश्कर्ष पनि सुनाउनु भएको छ । ‘यदि सरकार, राष्ट्र बैंक, बैंकिङ प्रणाली र निजी क्षेत्र एउटै आत्मविश्वासका साथ अघि बढेमा आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन छैन,’ अर्थमन्त्री वाग्लेको भनाई थियो