काठमाडौं, साउन २० । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ मा नाफामा उल्लेख्य सुधारसहितको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सो बैंकले उल्लेख्य रुपमा नााफा बढाए पनि स्प्रेड रेट घट्दा खुद ब्याज आम्दानीमा सुधार भएको छ । तर, निष्क्रिय कर्जामा सुधार भएर सम्भावित कर्जा नोक्सानी व्यवस्थामा उल्लेख्य कमी आउँदा बैंकको नाफामा भने ठूलो सुधार देखिएको हो ।
बैंकले प्रकाशित गरेको गत आबको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफामा ३३.५० प्रतिशतले वृद्धि भएको छ । बिवरणअनुसार बैंकले गत आवमा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आव २०८१/८२ मा बैंकको खुद नाफा ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ मात्र थियो । नविल बैंकको व्यवसाय विस्तारसँगै खराब कर्जा व्यवस्थापनमा देखिएको सुधारले नाफा बढाउन मुख्य भूमिका खेलेको देखिएको हो ।
बैंकको कर्जा लगानी पनि बढेको छ । कर्जा लगानी बढदा खुद ब्याज आम्दानी भने सोही अनुपातमा बढ्न नसकेको विवरणले देखाएको छ । अघिल्लो आर्थिक बर्षमा १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी गत आवमा बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको ब्याजदर अन्तर अर्थात स्प्रेड दर ३.५७ प्रतिशतबाट खुम्चिएर ३.१८ प्रतिशतमा झरेका कारण कर्जा बढ्दा पनि खुद ब्याज आम्दानीमा अपेक्षित सुधार हुन नसकेको देखिएको हो । यस्तै, बैंकको खुद फी तथा कमिशन आम्दानी पनि सामान्य वृद्धि हुँदै ३ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुगेको छ ।
खुद ब्याज र फी तथा कमिशन आम्दानीमा सामान्य मात्रै सुधार भएपनि बैंकको नाफा बढ्नुको मुख्य कारण निष्क्रिय कर्जामा सुधार भए कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) घट्नु हो । अघिल्लो आवमा कर्जा नोक्सानी व्यवस्थामा ४ अर्ब २० करोड १४ लाख रुपैयाँ रहेकोमा गत आबमा घटेर २ अर्ब ६७ करोड ७१ लाख रुपैयाँमा झरेको छ । यसले बैंकको सञ्चालन मुनाफा बढाउनसहयोग पुर्याएको छ ।
अघिल्लो वर्ष ४.४८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर ४.२० प्रतिशतमा झरेको छ । खुद निष्क्रिय कर्जा ०.५८ प्रतिशत मात्रै रहेको बैंकको निष्क्रिय कर्जाको ११९.७३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरेको छ । यसले सम्भावित कर्जा जोखिमका लागि पर्याप्त प्रोभिजन गरेको देखिन्छ ।
खुद नाफामा सुधार भएसँगै बैंकको सेयरधनीका लागि वितरण गर्न मिल्ने नाफा र लाभांश क्षमतामा पनि अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार भई वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
यस आधारमा बैंकको प्रतिसेयर लाभांश क्षमता १९.१० प्रतिशत देखिएको छ । यो क्षमता अघिल्लो वर्ष १४.२५ प्रतिशत मात्र थियो । गत आर्थिक वर्षमा बैंकले ५ अर्ब रुपैयाँको पर्पेच्युअल नन् क्युमिलेटीभ प्रिफरेनस सेयर जारी गरेको थियो । जसको लाभांशका लागि बैंकले २३ करोड ३४ लाख २५ हजार रुपैयाँ छुट्याएको छ । उक्त रकम छुट्याएपछिको लाभांश क्षमता १९.१० प्रतिशत हो ।
बैंकका अन्य वित्तीय सूचकहरुमा प्रतिशेयर आम्दानी नाफा बढेसँगै २१ रुपैयाँ ८९ पैसाबाट बढेर २८ रुपैयाँ ३६ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २४७.२८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १८.८६ गुणा रहेको छ ।
बैंकले सार्वजनिक गरेको बिवरणअनुसार अघिल्लो आर्थिक बर्षको असार मसान्तमा ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ रहेको निक्षेप संकलन १२.९५ प्रतिशतले बढेर गत आबमा ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह १२ प्रतिशत बढेर ४ खर्ब १० अर्ब ९९ करोड रुपैयाँबाट ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी बैंकको आधार दर ५.८३ प्रतिशतबाट घटेर ४.४४ प्रतिशतमा झरेको छ । पुँजीगत आधार बलियो बनाउन बैंकले यसै वर्ष ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अग्राधिकार सेयर’ समेत जारी गरेको छ । सो बैंकको पूँजीकोष अनुपात १२.३७ प्रतिशत र प्राथमिक पूँजीकोष अनुपात ९.६८ प्रतिशत रहेको छ ।
नविल बैंकको कार्यकारी टीमको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज ज्ञवालीले गर्दै आउनु भएको छ । सिईओ ज्ञवालीले सञ्चालक समितिका अध्यक्ष निर्वाण चौधरीदेखि सञ्चालक सदस्य, बैंकका कर्मचारी र बैंकलाई माया गर्ने सवैको योगफलको रुपमा बैंकले प्रगतिको सूचक बढाउँदै लगेको बताउने गर्नुभएको छ ।














प्रतिक्रिया दिनुहोस्