जनता टाइम्स

२० श्रावण २०८३, बुधबार १६:४६

ग्लोबल आईएमई बैंकले कमायो खुद नाफा ६ अर्ब २२ करोड, प्रतिशेयर आम्दानी पनि ह्वात्तै बढ्यो


काठमाडौं, साउन २० । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब २२ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ । चौथो त्रैमास अन्त्यको वित्तीय विवरण सार्वजनिक गर्दै ग्लोबल आईएमईले अघिल्लो आर्थिक बर्षको भन्दा २२.६२ प्रतिशतले नाफा बढाएको हो ।

बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक बर्ष २०८२/८३ को चौथो त्रैमास अन्त्यको अपरिष्कृत वित्तीय विवरण अनुसार ग्लोवल आइएमई सो बैंकले खुद नाफा ६ अर्ब २२ करोड ८१ लाख रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो आर्थिक बर्षको ५ अर्ब ७ करोड ६३ लाख रूपैयाँको तुलनामा १ अर्ब १५ करोड रुपैयाँले बढी हो ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक बर्षको अन्त्यमा बैंकको ईपीएस १३.३२ रुपैयाँ रहेकामा यस अवधिमा १६.३४ रुपैयाँ पुगेको छ । बिवरणअनुसार आव २०८२÷८३ को अन्त्यमा बैंकले नाफा गरेको ६ अर्ब २२ करोडमध्ये ३ अर्ब ५७ करोड ५४ लाख रूपैयाँ सेयरधनीहरूलाई बाँड्न मिल्ने देखिन्छ ।

अघिल्लो आवसम्मको विवतरणयोग्य नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेर बाँकी रहेको रकम समेत जोड्दा बैंकको कुल सञ्चित नाफा ४ अर्ब ५८ करोड १० लाख रूपैयाँ पुगेको छ । यो रिटेन्ड अर्निङले बैंकले सेयरधनीलाई १२.०२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । यो तथ्यले ग्लोवल आइएमई बैंकले आशाजनक लाभांश क्षमता रहेको देखाएको छ ।

ग्लोवलअ आइएमई बैंकले आर्थिक बर्ष २०८२/८३ मा १६ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले वर्षभर अघिल्लो आवको भन्दा कम ब्याज आम्दानी गरे तापनि ब्याज खर्चमा गिरावट आएको छ । अघिल्लो आव खुद ब्याज आम्दानीमा १६ अर्ब ६७ करोड रूपैयाँ रहेकामा गत आवमा यस्तो आम्दानी ४७ करोड रूपैयाँले घटेको छ ।

यस्तै बैंकको ब्याजदर अन्तर (स्पेड दर) पनि ३.६३ प्रतिशतबाट घटेर ३.२९ प्रतिशतमा सीमित भए तापनि खुद ब्याज आम्दानी बढेको हो । यसबीचमा खुद फी एन्ड कमिसन इन्कम ३ अर्ब २२ करोडबाट बढेर ३ अएब ५४ करोड रूपैयाँ पुगेको छ । बिवरणअनुसार असार मसान्तमा सम्भावित नोक्सानीका बैंकले ४ अर्ब ७८ करोड ८४ लाख रूपैयाँ प्रोभिजन गरेको छ । नोक्सानी व्यवस्थाका लागि बैंकले अघिल्लो आव अन्त्यमा ५ अर्ब ९७ करोड ६५ लाख रूपैयाँ छुट्याएको थियो ।

यसबीचमा सञ्चालन खर्च केही बढे तापनि बढेको सञ्चालन आयले बैंकलाई सबल स्थितिमा राखेको छ । बैंकको सञ्चालन मुनाफा अघिल्लो वर्ष ७ अर्ब २३ करोड रुपैयाँ रहेकोमा गत वर्ष ८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा सामान्य दरले बढेको छ । अघिल्लो आवको अन्त्यमा कुल निष्क्रिय कर्जा अनुपात ४.८६ प्रतिशत रहेकामा अहिले ४.९६ प्रतिशत पुगेको छ । तर, पर्याप्त नोक्सानी व्यवस्थाका कारण खुद निष्क्रिय कर्जा भने ०.५९ प्रतिशत मात्र रहेको छ ।

असार मसान्तका मुख्य वित्तीय अनुपातहरू हेर्ने हो भने पुँजी कोष अनुपात १२.६५ प्रतिशतबाट कमजोर बनेर १२.१० प्रतिशत पुगेको छ । यस्तै प्राथमिक पुँजी अनुपात १०.३४ प्रतिशतबाट घटेर १०.०४ प्रतिशत कायम भएको छ भने बैंकको कोषको लागत ४.३० प्रतिशतबाट घटेर ३.४३ प्रतिशतमा सीमित हुँदा आधार दर ५.७६ प्रतिशतबाट घटेर ४.७५ प्रतिशत कायम भएको छ । यस्तै सो बैंकको प्रतिशेयर नेटवर्थ १८३.१४ रुपैयाँ हुँदा सीडी रेसियो ६८.४३ प्रतिशत रहेको छ ।

यी तथ्यले पर्याप्त पुँजी र तरलता तथा न्यून ब्याजदर रहेको परिस्थितिमा बैंकका लागि चालु आर्थिक वर्षमा कर्जा विस्तारको बाटो निकै सहज देखिएको छ । गत आवमा पनि बैंकले कुल निक्षेप अघिल्लो वर्षको अन्त्यको ५ खर्ब५० अर्ब ६३ करोड रुपैयाँबाट बढाएर ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ । यसैगरी ग्राहकतर्फको कर्जा लगानी पनि अघिल्लो वर्षको ४ खर्ब १० अर्ब ११ करोड रुपैयाँबाट बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ । जगेडा कोष पनि २४ अर्ब ४५ करोडबाट बढेर २७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यता नेटवर्थ १८३.१४ रूपैयाँ र ईपीएस १६.३४ रूपैयाँ रहेको बैंकको सेयर धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता २४० रूपैयाँमा कारोबार भइरहेको छ । जसअनुसार पीई रेसियो १४.६९ रहेको छ ।

अघिल्लो वर्षको तुलनामा बैंकले गत आवमा कर्जा बढाएको छ भने नोक्सानी व्यवस्थाका लागि छुट्याउनु पर्ने रकम घटाएको छ । यसरी व्यवसायको आकार घट्दा पनि बैंकले आन्तरिक व्यवस्थापन र खुद फी तथा कमिसन आम्दानीका कारण नाफा बढाउन सफल भएको देखिन्छ ।

ग्लोवल आइएमई बैंक लिमिटेडका अध्यक्ष प्रतिष्ठित ब्यवसायी तथा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेन्द्रराज रेग्मी हुनुहुन्छ । अध्यक्ष ढकालको समग्र नेतृत्व र सिईओ रेग्मीको उच्च ब्यवस्थापन तथा रणनीतिक क्षमताको संयोजनको परिणाम स्वरुप ग्लोबल आइएमई बैंकले आफ्नो सवै सूचन सकारात्मक बनाउन सकेको हो ।