रामेछाप, साउन २१ । तीन दिनदेखि बेपत्ता रहेका खाँडादेवी गाउँपालिका-३ सित्खाका एक तीन वर्षिय बालककाे अवस्था अझै पत्ता लाग्न सकेकाे छैन ।
गत साेमबार स्थानीय गुणराज केसीका छोरा रियान्स केसी सित्खाकाे सत्तरी भन्ने ठाउँबाट बेपत्ता भएका थिए । ती बालकलाई सुनकोशी नदीले बगाएको हुन सक्ने आशंकामा निरन्तर खोजीकार्य भइरहेको छ।
खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार सुनकोशी नदीमा पानीको बहाव अत्यधिक भएका कारण नदीका बीचमा रहेका टापुहरूमा पुगेर प्रत्यक्ष खोजी गर्न सम्भव भएको छैन।
त्यसैले गाउँपालिकाबाट पठाइएको ड्रोनको सहयोगमा प्राविधिक नवीन श्रेष्ठ, स्थानीय प्रहरी, बालकका आफन्त तथा स्थानीयवासीको सहभागितामा नदीका टापु तथा किनारका विभिन्न स्थानमा खोजी अभियान सञ्चालन गरिएको छ। अध्यक्ष श्रेष्ठले ड्रोनमार्फत खोजी गरिए पनि बिहीबारसम्म बालकको कुनै पत्तो लाग्न नसकेको जानकारी दिनुभयो।
उहाँले बालकको खोजीकार्यलाई निरन्तरता दिइएको बताउँदै कसैले बालकलाई कतै देख्नुभएको वा उहाँका सम्बन्धमा कुनै जानकारी प्राप्त भएको भए तत्काल नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन सबैमा हार्दिक अनुरोध गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्