जनता टाइम्स

२१ श्रावण २०८३, बिहीबार १६:४८

गृहमन्त्रीले रोष्टमबाटै दिए सरकारलाई प्रश्न नगर्न चेतावनी


काठमाडौं, साउन २१ । गृहमन्त्री सुधन गुरुङले सदनमा उठेको प्रश्नको जवाफ दिनै अस्वीकार गर्नुभएको छ । गृहमन्त्री गुरुङले राष्ट्रिय सभाको बैठकमा बिहीवार सांसदले सोधेको प्रश्नकै ‘जवाफ दिन्न’ भन्दै ‘हुकुमी राज’ को शैली अपनाउनु भएको हो ।

प्रधानमन्त्री बालेन्द्र साह (बालेन) माथि प्रश्नबाट भागेको र सदनप्रति जवाफदेही नबनेर मतदाताप्रति नै अपमान गरेको सार्वजनिक रुपमा आरोप लागिरहँदा उहाँकै ‘देश बनाउने टीम’ का एक सदस्य गृहमन्त्रीले सदनको रोष्टमबाटै माननीइले सोधेको प्रश्नमा जवाफ दिन्न भन्दै हिडनुभएको हो ।

बिहीवारको बैठकमा गृहमन्त्री गुरुङले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणबारे सोधिएको प्रश्नमा जवाफ दिन्न भन्ने घोषणा रोष्टमबाट गर्नुभएको हो । गृहमन्त्री गुरुङले पदबहालीमै पन्तको हत्यारा पत्ता लगाउने घोषणा गर्नुभएको थियो । तर स्टण्टका लागि मात्र निर्णय गरेर केही काम अघि नबढाएपछि राष्ट्रिय सभामा प्रश्न सोधिएको थियो ।

बिहिवारको राष्ट्रिय सभामा बैठकमा मन्त्रीसँग राखिएको ’प्रश्नोत्तर कार्यक्रम’ मा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ? यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मालालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भन्ने प्रश्न सोध्नुभएको थियो ।

तर जवाफ दिन रोष्टममा उभिनुभएका गृहमन्त्री गुरुङले शुरुमा घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताएपनि एकाएक सांसदमाथि नै उल्टै प्रतिपश्न गर्दै चेतावनीको भाषा प्रयोग गर्नुभएको थियो । जवाफ दिनका लागि रोष्टममा उभिनुभएका गृहमन्त्रीको उल्टै प्रश्न थियो, ‘तपाईंहरू सत्तामा हुँदा किन दोषी पत्ता नलागेको ?’ गृहमन्त्री गुरुङले ‘आइन्दा निर्मला पन्त प्रकरणको विषय संघीय संसदमा नउठाउन सांसदहरूलाई घुमाउरो पारामा चेतावनी नैदिनुभएको छ ।

यस्तो गम्भीर विषयमा निर्मला पन्तको आमालाई पीडा दिइरहने हो कि सुक्ष्म रुपले अनुसन्धान गरेर नतिजा दिने हो ? त्यसकारण यस विषयमा धेरै बोल्नु उचित हुँदैन । र अब आइन्दा यस्ता प्रश्न राष्ट्रिय सभा र प्रतिनिधि सभामा नउठाइदिन पनि आग्रह गर्न चाहन्छु

‘माननीयज्यूले उठाउनुभएको विषय एकदमै संवदेनशील छ । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु । हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको हो ?’, गृहमन्त्री गुरुङको सांसदलाई नै प्रतिप्रश्न थियो, ’यस्तो गम्भीर विषयमा निर्मला पन्तको आमालाई पीडा दिइरहने हो कि सुक्ष्म रुपले अनुसन्धान गरेर नतिजा दिने हो ? त्यसकारण यस विषयमा धेरै बोल्नु उचित हुँदैन । र अब आइन्दा यस्ता प्रश्न राष्ट्रिय सभा र प्रतिनिधि सभामा नउठाइदिन पनि आग्रह गर्न चाहन्छु ।’

गुरुङका अनुसार आफूहरू सत्तामा रहेको बेला बलात्कार, हत्या जस्ता प्रश्न उठाएरु परिवारलाई पीडा दिने काम गर्न हुन्न भन्ने प्रष्ट चेतावनी थियो । हत्या र बलात्कारको बिषयमा प्रश्न उठाउँदा पीडित परिवारलाई थप पीडा हुने र उनीहरूलाई थप पीडा दिनेगरी बलात्कार जस्ता संवेदनशील विषय संसदमा उठाउन नमिल्ने तर आफूलाई व्यक्तिगत सोध्न भने मिल्ने गृहमन्त्री गुरुङको सुझाव थियो ।

’कुनै विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नुहोला । माननीय मन्त्रीज्यू के भइराछ ? कसो छ भनेर सोध्दा खेरि पनि फरक पर्दैन’, गृहमन्त्री गुरुङले भन्नुभयो । बिगतमा सत्तामा रहेका पदाधिकारी र राजनीतिक दलका नेतामाथि सडकमै मनपरी आक्षेप लगाउनेमा गृहमन्त्री गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाह एक नम्बरमा रहनुभएको थियो । उहाँहरूले सामाजिक सञ्जालदेखि सडकसम्म घृणाजन्य अभिब्यक्तिको बिष रोपेर आमचकारी गर्ने गर्नुभएको थियो ।

सिधै बलात्कार भन्ने, बलात्कारको शिकार भएका पीडितका परिवारमा गएर त्यही कुरा उठाउने काममा गृहमन्त्री गुरुङ सवैभन्दा अग्र पङ्तीमा देखिनु गर्नुभएको थियो । तर आफूले जवाफ दिनेबेला भने ‘आइन्दा यस्ता कुरा नसोध्नु, एक्लै आएर मलाई खुसक्क सोध्नू’ भन्ने उर्दी रोष्टमबाटै दिनुभएको हो ।