काठमाडौं, साउन २१ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रामेछापले प्रतिनिधिसभा निर्वाचनमा बेहोरेको पराजयको गम्भीर समीक्षा गर्दै पार्टी संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने निर्णय गरेको छ।
जिल्ला कमिटीको आठौं पूर्ण बैठक बिहीबार मन्थलीमा जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता तथा पार्टी केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज माधवप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकमा केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, प्रदेश कमिटी उपसचिव रमेश आचार्यलगायत नेताहरूको सहभागिता रहेको थियो।
बैठकले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रामेछापमा पार्टीले बेहोरेको अप्रत्याशित पराजयका कारणबारे विस्तृत समीक्षा गर्दै आगामी दिनमा संगठनलाई थप प्रभावकारी बनाउँदै पार्टीलाई सशक्त रूपमा अघि बढाउने निर्णय गरेको जनाएको छ।
बैठकले नवनिर्मित एमाले रामेछाप जिल्ला पार्टी कार्यालय ‘मदन–आश्रित स्मृति’ भवनको उद्घाटन तथा ‘मिसन पार्टी जागरण अभियान–२०८३’ को शुभारम्भ शुक्रबार बिहान ११ बजे मन्थली नगरपालिका–१, आकाशेमा गर्ने निर्णय गरेको छ। उद्घाटन कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, सञ्चारकर्मी, विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तित्व, सहयोगी तथा आम नागरिकलाई उपस्थितिका लागि आमन्त्रण गरिएको एमाले रामेछापले जनाएको छ।
बैठकले नवीकरण भएका संगठित सदस्यताको अभिलेखीकरणलाई अनुमोदन गरी माथिल्लो कमिटीमा पठाउने निर्णय गरेको छ। साथै ‘मिसन पार्टी जागरण अभियान–२०८३’ लाई जिल्ला, पालिका, वडा र टोल तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्दै जनताको दुःख–सुखमा सहभागी हुने, जनमुखी कार्यक्रम सञ्चालन गर्ने तथा संगठनलाई अझ सुदृढ र सक्रिय बनाउने निर्णय पनि गरेको छ।
यसैगरी, बैठकमा एमाले रामेछापको ‘मदन–आश्रित स्मृति’ भवन निर्माणसम्बन्धी आय–व्यय विवरण समेत प्रस्तुत गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।














प्रतिक्रिया दिनुहोस्