जनता टाइम्स

२२ श्रावण २०८३, शुक्रबार ०१:४४

एनआरएनएको प्रमुख संरक्षकमा डा. बद्री केसी नियुक्त


काठमाडौं, साउन २२ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख संरक्षकमा संघका निवर्तमान अध्यक्ष बद्री केसी नियुक्त हुनुभएकाे छ ।

महासचिव चिरञ्जीवी खड्काले प्रमुख संरक्षकमा निवर्तमान अध्यक्ष केसीलाई नियुक्त गरिएको विज्ञप्तिमार्फत् जानकारी दिनुभएको हो ।

केसीलाई १३ औँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न नभएसम्मका लागि प्रमुख संरक्षकमा नियुक्त गरिएको एनआरएनएले जनाएको छ।

केसी यसअघि ११ औँ र १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

विभिन्न समूहमा विभाजित भएको एनआरएनएलाई एक ठाउँमा ल्याएर १२ औँ महाधिवेशनमार्फत सहमतिका आधारमा नेतृत्व चयन गर्न केसीले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

साधारण सदस्यका रूपमा एनआरएनएमा प्रवेश गर्नुभएका केसी सन् २००९ र २०११ मा केन्द्रीय सदस्य बन्नुभयो ।त्यसपछि कोषाध्यक्षको भूमिका कुसलतापुर्वक निर्वाह गरी दुई कार्यकाल महासचिव बन्नुभयो ।

महासचिवपछि एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेर सन् २०२१ मा केसी पहिलो पटक अध्यक्ष बन्नुभएको थियो । २०२१ देखि २०२३ र २०२३ देखि २०२५ सम्म केसी अध्यक्षको रुपमा एनआरएनको नेतृत्व गर्नुभयो ।

सन् १९९० मा रसिया पुगेका केसीले सन् १९९६ मा बायोटेक्नोलोजीमा स्नातकोत्तर र सन् २००१ मा पिएचडी (विद्यावारिधि) तह पूरा गर्नुभएको छ ।

पढाइपछि उहाँ व्यवसायमा सक्रिय भई सुरूमा इलेक्ट्रोनिक्स सामानको व्यापार गर्नुुभयो । त्यसबाट केही आम्दानी भएपछि मेडिकल सामग्रीको खरिद–बिक्रीमा लागेर हाल उहाँले रसियामा चिया र कफीको आफ्नै ब्रान्ड स्थापना गर्नुभएको छ ।

रसियामै उहाँले चियाको कारखानासमेत खोल्नुभएको छ । सो कफी नेपाल, भारत र श्रीलंकाबाट लैजाने गिरएको छ। यस्तै भियतनाम, केन्या, चीन र इन्डोनेसियालगायतका देशबाट पनि कच्चा चिया आयात गर्ने गरेको केसीको भनाई छ ।