काठमाडौं, साउन २२ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण नेपालले एएफसी यू–१९ एशियन कप छनोट प्रतियोगिता पनि गुमाएको छ।
एशियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको प्रतियोगिताको खेल तालिकामा नेपालको नाम समावेश गरिएको छैन। एएफसीका अनुसार फिफाको निलम्बन नभएको भए नेपाल समूह ‘आई’ मा रहने थियो।
यससँगै फिफा निलम्बनका कारण नेपाल लगातार तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि नेपाल एएफसी महिला च्याम्पियन्स लिग र एएफसी यू–१७ महिला एशियन कप छनोटबाट पनि वञ्चित भइसकेको थियो।
फिफाले गत असार ११ गते अखिल नेपाल फुटबल संघ (एन्फा)मा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो।
यदि निलम्बन समयमै फुकुवा नभए नेपालले दक्षिण एशियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप समेत गुमाउन सक्ने जोखिम बढेको छ। साफले सेप्टेम्बर १ भित्र फिफाको निलम्बन हटेमा मात्रै नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ।
एएफसी यू–१९ एशियन कप छनोट प्रतियोगिता चीनमा अगस्टको अन्तिम सातादेखि सुरु हुँदैछ।














प्रतिक्रिया दिनुहोस्