रामेछाप, साउन २२ । रामेछापको खाँडादेवी गाउँपालिकास्थित ऐतिहासिक तथा धार्मिक शक्तिपीठ खाँडादेवी मन्दिर परिसरमा शुक्रबार संयुक्त रूपमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
ईलाका प्रहरी कार्यालय चोप्राङ र खाँडादेवी विकास कोष परिवारको संयुक्त आयोजनामा सम्पन्न सरसफाइ कार्यक्रममा मन्दिर परिसर, प्रवेश मार्ग फूलबारी तथा आसपासका क्षेत्र सफा गरिएको हो। खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङका अनुसार धार्मिक सम्पदाको संरक्षण, स्वच्छ वातावरण निर्माण तथा मन्दिरमा आउने श्रद्धालुलाई सहज र आकर्षक वातावरण उपलब्ध गराउने उद्देश्यले सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा नेपाल प्रहरीका कर्मचारी, विकास कोषका पदाधिकारी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सबैको साझा दायित्व भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
खाँडादेवी मन्दिर रामेछाप जिल्लाकै प्रमुख धार्मिक तथा ऐतिहासिक शक्तिपीठमध्ये एक मानिन्छ। जनविश्वासअनुसार यहाँ देवी खाँडादेवीको विशेष कृपा प्राप्त हुने भएकाले वर्षभरि नेपालका विभिन्न जिल्लाबाट श्रद्धालु दर्शनका लागि आउने गर्छन्। विशेषगरी बडादशैं, चैते दशैं तथा अन्य धार्मिक पर्वका अवसरमा मन्दिरमा ठूलो मेला लाग्ने र हजारौं भक्तजनको उपस्थिति रहने गर्दछ।
विकास कोष तथा समुदायको सक्रिय सहभागितामा मन्दिरको संरक्षण, सौन्दर्यीकरण र धार्मिक पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। सरोकारवालाले यस्ता अभियानले ऐतिहासिक सम्पदाको संरक्षणसँगै धार्मिक पर्यटन विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।














प्रतिक्रिया दिनुहोस्