जनता टाइम्स

२३ श्रावण २०८३, शनिबार १७:५७

नागरिकका कुरा सुन्दै आफ्ना कुरा सुनाउँदै रामेछाप प्रहरी, गाउँगाउँमा नागरिक सुनुवाइ कार्यक्रम


रामेछाप, साउन २३ । जिल्ला प्रहरी कार्यालय रामेछापले नागरिकका गुनासा, सुझाव र समस्या प्रत्यक्ष रूपमा सुन्ने तथा प्रहरीले गर्दै आएका र आगामी दिनमा गर्ने कार्यबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले गाउँगाउँमा नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्न थालेको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नागरिक सुनुवाइमार्फत अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। अभियानका क्रममा गाउँगाउँमा पुगेर प्रहरीले गरेका तथा गर्ने कामबारे नागरिकलाई जानकारी गराउनुका साथै नागरिकका सल्लाह, सुझाव र गुनासा प्रत्यक्ष रूपमा सुन्ने गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो।

सोही कार्यक्रमअन्तर्गत खाँडादेवी गाउँपालिका–५, गोगनपानीस्थित सामुदायिक भवनमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका उपाध्यक्ष रमा घिसिङको प्रमुख आतिथ्यता तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा डीएसपी जैसवारले रामेछाप प्रहरीले गत आर्थिक वर्षमा गरेका विभिन्न गतिविधि तथा हासिल गरेका उपलब्धिबारे जानकारी गराउनुभयो। उहाँले प्रहरीसँग सम्बन्धित कुनै समस्या, गुनासा वा सुझाव भए खुलेर राख्न नागरिकलाई आग्रह गर्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष घिसिङले प्रहरीका यस्ता कार्यक्रमले नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो। नागरिकसँगको सम्बन्धलाई निरन्तर विस्तार गर्दै लैजाँदा प्रहरीप्रति नागरिकको विश्वास अझ बढ्दै जाने उहाँको भनाइ थियो।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय नागरिक, सामाजिक अगुवा लगायतको सहभागिता थियो।

सहभागीहरूले बालविवाह नियन्त्रण, प्राकृतिक स्रोतसाधनको चोरी–निकासी नियन्त्रण तथा नदीमा अवैध रूपमा माछा मार्ने कार्य नियन्त्रणलगायतका विषयमा प्रहरीको ध्यानाकर्षण गराउँदै प्रभावकारी निगरानी र कारबाहीका लागि सुझाव दिनुभएको थियो।