काठमाडौं, साउन २४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटान र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमको स्थलगत अनुगमन गर्नुभएको छ ।
सुरक्षा निकाय तथा स्थानीय बासिन्दाको उपस्थितिमा आइतबार मुख्यमन्त्री आचार्यले सुस्ता क्षेत्रको नदी कटान प्रभावित क्षेत्रको अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले नदी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने र विपद् व्यवस्थापन कोषबाट समेत बजेट उपलब्ध गराउने जानकारी पनि दिनुभयो ।
‘मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘बजेटको अभावका कारण सुस्ता क्षेत्रको नदी कटान नियन्त्रणको काम रोकिने छैन । प्रदेश सरकारले यस विषयमा आवश्यक ध्यान दिन्छ । नदी कटान नियन्त्रणका लागि तत्काल गर्नुपर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।’
उहाँले सुस्ता क्षेत्रमा नदी कटानका कारण बस्ती, खेतीयोग्य जमिन तथा सीमा क्षेत्रमा पर्नसक्ने जोखिमलाई गम्भीरतापूर्वक लिन सुरक्षा निकाय र स्थानीय प्रशासनलाई आग्रह पनि गर्नुभयो । यस्तै उहाँले तीनवटै सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइने स्पष्ट पार्नुभयो । मुख्यमन्त्री आचार्यले सीमा क्षेत्रमा उच्च मनोबलका साथ खटिएर राष्ट्रिय सीमा तथा नेपालको भूमि जोगाउन योगदान पुर्याउन सुरक्षा निकाय र समुदाय स्तरबाट भएको प्रयासको खुलेर प्रशंसा गर्नुभयो ।

‘नेपालको भूमि संरक्षण गर्न सुस्तावासीले रक्षा कवचको रूपमा खेल्नुभएको भूमिका महत्वपूर्ण छ । तपाईंहरूले गरेको योगदानको जति प्रशंसा गरे पनि कम हुन्छ’ मुख्यमन्त्री आचार्यको भनाई थियो । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकले कठिन परिस्थितिमा समेत नेपाली भूमि संरक्षणमा निरन्तर योगदान दिँदै आएकोमा मुख्यमन्त्री आचार्यले सुस्तावासीप्रति आभार व्यक्त गर्नुभएको छ ।
सुस्ताको भूमि रक्षाका लागि स्थानीय नागरिकले देखाएको एकता र प्रतिबद्धता राज्यका लागि समेत महत्वपूर्ण रहेको आचार्यको भनाई थियो । नदी कटान नियन्त्रणका लागि सुरक्षा निकायले देखाएको सक्रियताको समेत मुख्यमन्त्री आचार्यले प्रशंसा गर्नुभयो । सीमा सुरक्षा र नदी कटान नियन्त्रणका लागि सुरक्षा निकायले स्थानीय बासिन्दासँग समन्वय गरी काम गरिरहेको भन्दै उहाँले धन्यवाद दिनुभयो ।
निरीक्षणको क्रममा स्थानीइवासीसँग खुलेर कुराकानी गर्नुभएका मुख्यमन्त्री आचार्यले नदी कटान रोक्न समुदायस्तरबाट भइरहेका प्रयासलाई सम्मान गर्दै स्थानीय बासिन्दाको सक्रिय सहभागिता र सुरक्षा निकायको समन्वयमा नदी कटान नियन्त्रणका लागि भइरहेका तत्कालीन प्रयासलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
सो क्रममा मुख्यमन्त्री आचार्यलाई सुस्ता क्षेत्रमा नदी कटान बढ्दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए । सुस्तावासीले दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण, नदीको बहाव व्यवस्थापन तथा आवश्यक संरचना निर्माण सरकारको ध्यानाकर्षण गराएका हुन ।

मुख्यमन्त्री आचार्यले तत्कालीन आवश्यकता र दीर्घकालीन समाधानका उपाय पहिचान गरी नदी कटान नियन्त्रणको कामलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्