जनता टाइम्स

२५ श्रावण २०८३, सोमबार १५:५५

कोशीमा मिलेन एमाले र नेकपाबीच मन्त्रालयको भागबण्डा, दुवै दलले सुनाए बटमलाइन


कोशीमा एमाले नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराइरहने चाहनामा रहेको देखिएको छ

विराटनगर, साउन २५ । सत्ता सहकार्य गर्ने सहमति गरेको नेकपा एमाले र नेकपाले कोशी प्रदेशमा भागबन्डामा समस्या देखिएको छ । केन्द्रमा सहमति गरेर प्रदेश झरेपछि दुवै दलले कमाउ मन्त्रालय रोजेर बटमलाइन बनाएपछि समस्या देखिएको हो ।

हाल कोशीमा ९ वटा मन्त्रालय रहेको छ । जसमध्ये नेकपाले अर्थ र आन्तरिक मामिलासहित ४ वटा मन्त्रालय चाहिने दाबी गरेको छ । यता सरकारको नेतृत्व गरेको दल एमालेले ३ वटा मन्त्रालय मात्रै दिने अडान सुनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेसँग सत्ता सहकार्यका लागि ४ वटा मन्त्रालय माग गरिएको जानकारी दिदनुभयो । ‘हामीले ४ वटा मन्त्रालय भनेका छौं, उहाँहरूको कुरा मिडियामा सुनेको हो । औपचारिक छलफल अघि बढेको छैन,’ आङ्बोले भन्नुभयो ।

वर्तमान सरकारमा कांग्रेसका ४ जना मन्त्री र एक जना राज्यमन्त्री छन् । नेकपाले आफ्नो दलले सोही संख्या पाउनुपर्ने दाबी गर्दै आएको छ ।आङ्बोले अबको छलफलमा छलफलमा पार्टीको तर्फबाट अडान राख्ने बताउनु भयो । यस्तै सरकारको न्यूनतम साझा कार्यक्रम, बजेटको पुनरावलोकन लगायत विषयमा छलफल गर्ने उहाँको भनाई छ ।

नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले भने ३ वटा मन्त्रालय दिन सकिने धारणा यसअघि नै राखिसक्नुभएको छ । आइतबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले ६–३ को अनुपातमा सत्ता साझेदारी गर्ने बताउनु भएको हो । कोशीमा एमाले नेपाली कांग्रेसलाई समेत सरकारमा सहभागी गराइरहने चाहनामा रहेको देखिएको छ ।