जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार ०७:३१

कोलम्बियामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १३२ नाघ्यो, ५७० घाइते


काठमाडौँ, साउन २६ पश्चिमी कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ नाघेको छ। भूकम्पमा परी ५७० जना घाइते भएका छन्।

सोमबार गएको ७.४ म्याग्निच्युडको भूकम्पका कारण विभिन्न सहरमा भवन तथा अन्य संरचना भत्किएका छन्। केही मानिस भग्नावशेषमा पुरिएको आशंकामा उद्धार तथा खोजी कार्य जारी छ।

कोलम्बियाका नवनियुक्त राष्ट्रपति अबेलार्दो दे ला एस्प्रियेलाले राष्ट्रिय आपत्काल घोषणा गर्दै भग्नावशेषमा फसेका मानिसको उद्धारलाई सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्र जमिनको करिब १०७ किलोमिटर गहिराइमा थियो। कोलम्बियाको भूगर्भ सेवा संस्थाका अनुसार यो २१औँ शताब्दीमा देशमा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्प हो।

चोकोमा सञ्चार अवरुद्ध

भूकम्पको केन्द्रनजिक रहेको चोको क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन ढिलाइ भएको छ। चोकोकी गभर्नर नुबिया क्यारोलिना कोर्डोबाका अनुसार त्यहाँ मात्रै १२ जनाको मृत्यु र ८४ जना घाइते भएका छन्।

सबैभन्दा ठूलो क्षति कोलम्बियाको कफी उत्पादन क्षेत्रअन्तर्गत पर्ने रिसाराल्दामा भएको छ। राजधानी पेरेरियामा व्यापक क्षति पुगेको छ भने उद्धारकर्मीहरूले भत्किएका भवनमा मानिस फसेका छन् कि छैनन् भनेर खोजी गरिरहेका छन्।

भवन भत्किए, विमानस्थल बन्द

मानिजालेसमा रहेको प्रसिद्ध नव–गोथिक शैलीको क्याथेड्रलको एक भाग भत्किएको छ। कालीमा पनि भवन भत्किँदा उद्धारकर्मी, प्रहरी तथा स्वयंसेवकले भग्नावशेष हटाएर मानिसको खोजी गरेका थिए।

उद्धारकर्मीहरूले भत्किएको भवनबाट दुई महिला र दुई बालबालिकालाई जीवितै उद्धार गरेका छन्। उद्धारका लागि भारी उपकरण आवश्यक रहेको स्थानीय बासिन्दाले बताएका छन्।

भूकम्पपछि पश्चिमी क्षेत्रका पेरेरिया, मानिजालेस, क्विब्दो, आर्मेनिया, कार्तागो र बुएनाभेन्तुरालगायत विमानस्थलमा उडान अस्थायी रूपमा रोकिएको छ। विमानस्थलका संरचनाको सुरक्षा परीक्षण भइरहेको छ।

थप परकम्प आउन सक्ने चेतावनी

कोलम्बिया भूकम्पीय रूपमा सक्रिय ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्छ। त्यहाँ हरेक महिना हजारौँ साना भूकम्प जाने गरेका छन्।

कोलम्बियाको भूगर्भ सेवाका अनुसार सोमबार रातिसम्म २१ वटा परकम्प रेकर्ड भएका छन्। संस्थाले थप परकम्प आउन सक्ने चेतावनी दिएको छ।

यसअघि सन् १९९९ मा कोलम्बियाको कफी क्षेत्रमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसमा आर्मेनिया र पेरेरियालगायत क्षेत्रमा ठूलो क्षति हुनुका साथै एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।