कतार, साउन २६ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले घृणा र निराशाले नभई आशा र परिणाममुखी राजनीतिबाट मात्र समृद्ध नेपाल निर्माण संभव हुने बताउनु भएको छ ।
दोहामा आयोजित प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ राष्ट्रिय अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै नेम्वाङले यस्तो धारणा राख्नुभएको हो । नेम्वाङलाई मध्यपूर्वका नेपालीको चाहना र माग बमोजिम आएनएफ कतारले प्रमुख अतिथीका रुपमा आमन्त्रण गरी अधिवेशनको उदघाटन गराएको हो । सो अवसरमा उहाँले समस्या लुकाउने काम बन्द गरेर यथार्थको समना गरी निकास दिनुपर्ने बताउनु भयो ।
‘समस्या लुकाएर होइन, यथार्थ स्वीकार गर्दै प्रभावकारी कार्यान्वयन, आत्मसमीक्षा, नैतिक नेतृत्व र जनउत्तरदायी राजनीतिबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुने सत्यलाई सवैलेअ ात्मसाथ गर्नुपर्छ,’ नेम्वाङको भन्नुभयो, ‘निराशा फैलाएर होइन, जनतामा आशा जगाउने, सपना देखाउने र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने नेतृत्वको आवश्यकता छ ।’
नेम्वाङले नेपालमा अधिकांश क्षेत्रमा कानून, नीति तथा संस्थागत संरचना निर्माण भइसके पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा नागरिकले अपेक्षित सेवा–सुविधा प्राप्त गर्न नसकेको बताउनु भयो । कृषि, श्रम, वैदेशिक रोजगार, हुण्डी तथा सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) लगायतका क्षेत्रमा कानुनी व्यवस्था रहे पनि कार्यान्वयनको पक्ष निकै कमजोर भएकाले समस्या दोहोरिइरहेको उहाँको भनाई थियो ।
कतारमा कार्यरत नेपालीहरूले उठाएका मोबाइल, सुन, भन्सार तथा अन्य व्यवहारिक समस्याप्रति आफू निकै गम्भीर रहेको नेम्वाङले बताउनु भयो । उहाँले समयानुकूल कानुन र नीतिमा सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता पनि जनाउनु भएको छ । कानुनको उद्देश्य अवैध कारोबार नियन्त्रण गर्नु भए पनि त्यसको असर इमान्दार नागरिकमाथि परेको स्वीकार गर्दै सांसद नेम्वाङले कानुनी व्यवस्थालाई व्यवहारिक बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

नेम्वाङले लोकतन्त्रको आधार फरक विचारको सम्मान भएको उल्लेख गर्दै व्यक्तिपूजाको संस्कृति अन्त्य गर्नुपर्ने र असहमतिलाई व्यक्तिगत वैमनस्यका रूपमा लिन नहुने बताउनु भयो । आत्मसमीक्षा र आत्मालोचनाबाट नेतृत्वको उचाइ घट्ने नभई जनविश्वास बढ्ने उल्लेख गर्दै नेम्वाङले जनताको विश्वास पुनः जित्न व्यवहार, नैतिकता र जनउत्तरदायित्वमा सुधार आवश्यक रहेको धारणा राख्नुभयो ।
यस्तै उहाँले कम्युनिस्ट शक्तिको मत घट्दैमा विचारधारा समाप्त नहुने प्रष्ट पार्नुभयो । समाजमा असमानता, शोषण र सामाजिक न्यायको आवश्यकता रहुञ्जेल वामपन्थी विचार सान्दर्भिक रहने बताउँदै नेम्वाङले जनभावनाअनुसार काम गर्दै आफ्ना कमजोरीको समीक्षा गर्नुपर्नेमा भने जोड दिनुभयो ।
विशेषगरी ३५ वर्षमुनीका युवामा राजनीतिक दलप्रतिको विश्वास घट्दै गएको अवस्थालाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै उहाँले युवाले भाषणभन्दा परिणाम, नैतिकता र व्यवहारलाई बढी मूल्याङ्कन गर्ने भएकाले नेतृत्वले कामबाट विश्वास जित्नुपर्ने धारणा राख्नुभयो ।
नेतृत्व छनोटमा शैक्षिक योग्यता, अनुभव र क्षमतासँगै इमानदारिता, निष्ठा, नैतिकता तथा जनभावना बुझ्ने क्षमतालाई आधार बनाउनुपर्ने बिचार पनि उहाँको छ । ‘युवाको ऊर्जा र अग्रज पुस्ताको अनुभव राष्ट्र निर्माणका दुई महत्वपूर्ण आधार हो । देश निर्माणका लागि दुवै पुस्ताबीचको सहकार्य अपरिहार्य रहेको छ,’ सांसद नेम्वाङले भन्नुभयो ।
नेम्वाङले संविधान निर्माण, शान्ति प्रक्रिया तथा पूर्वाधार विकासका क्षेत्रमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । सामाजिक सञ्जालमा हुने गालीगलौज, व्यक्तिगत आक्रमण तथा संगठनभित्रका असहमतिलाई सार्वजनिक गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उहाँले मतभेदलाई संवाद र छलफलमार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै पार्टीगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई केन्द्रमा राख्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षता र नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन समारोहमा कतारस्थित विभिन्न नेपाली सामाजिक संस्थाका प्रतिनिधि, प्रवासी समुदायका अगुवा, सामाजिक व्यक्तित्व तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै सुहाङ नेम्वाङजस्ता युवा नेताहरूको उदयले नेपाली राजनीतिमा नयाँ ऊर्जा र सकारात्मक नेतृत्व विकासको सम्भावना बढाएको बताए।
यस्तै वक्ताहरूले खाडीमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका विभिन्न समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै नेपालका विमानस्थलमा हुने विभेदपूर्ण व्यवहार, विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइने दुईवटा मोबाइल फोन (आईफोन) समेत लैजान नपाउने व्यवस्था, अध्यागमन प्रक्रियाका झन्झट तथा श्रमिकसँग प्रत्यक्ष सरोकार राख्ने अन्य व्यवहारिक समस्याको समाधान गर्न माग गरेका थिए।

अधिवेशनको उदघाटन सत्रको सञ्चालन सचिव शेषराज तिमिल्सिना र स्वागत प्रथम उपाध्यक्ष अफसर अलीले गर्नुभएको थियो समारोहमा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिएर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।














प्रतिक्रिया दिनुहोस्