विराटनगर, साउन २७ । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा जुट्नुभएको छ। एमाले र नेकपाबीच भएको तीनबुँदे सहमतिपछि सत्ता गठबन्धन फेरिएसँगै कांग्रेस सरकारबाट बाहिरिन लागेको हो।
कांग्रेसका मन्त्रीहरूले आज बेलुकी वा भोलि बिहानसम्ममा राजीनामा दिने तयारी गर्नुभएको छ। कोशी प्रदेश सरकारमा कांग्रेसबाट एक राज्यमन्त्रीसहित चारजना मन्त्री हुनुहुन्छ। उहाँहरूको राजीनामा आएपछि नयाँ मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
यसैबीच एमाले र नेकपाबीच मन्त्रालय बाँडफाँटबारे शुक्रबारदेखि छलफल जारी छ। नेकपाले कांग्रेसले पाउँदै आएको चारवटै मन्त्रालय दाबी गरिरहेको छ भने एमालेले प्रदेशसभामा रहेको सांसद संख्याका आधारमा तीनवटा मन्त्रालय मात्र दिन सकिने अडान राखेको छ। कोशी प्रदेशसभामा एमालेका ४० र माओवादी केन्द्रका १७ सांसद हुनुहुन्छ।
मन्त्रालयको संख्या तथा जिम्मेवारी टुंगो लगाउने जिम्मेवारी मुख्यमन्त्री कार्की र नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई दिइएको छ।
कोशी प्रदेशमा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौवटा मन्त्रालय छन्। मुख्यमन्त्री कार्की मन्त्रालयको संख्या बढाउने पक्षमा हुनुहुन्न। एमालेका केही नेताहरूले मन्त्रालयको संख्या बढाउन सुझाव दिए पनि उहाँले त्यसलाई अस्वीकार गर्दै आउनुभएको छ।
मुख्यमन्त्री कार्कीले मन्त्रालय बाँडफाँटको विषयमा नेकपासँग करिब सहमति भइसकेको बताउनुभएको छ। उहाँले केन्द्रमा भएको सहमति कार्यान्वयन गर्न सानातिना विषयमा नअल्झिने बताउनुभएको छ।
कोशी प्रदेशमा हाल एमालेले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, खानेपानी तथा सिँचाइ र सामाजिक विकास मन्त्रालय सम्हालिरहेको छ। त्यसैगरी भौतिक पूर्वाधार विकास, उद्योग, कृषि तथा सहकारी, स्वास्थ्य तथा पर्यटन र वन तथा वातावरण मन्त्रालय कांग्रेसको नेतृत्वमा छन्।
सरकार पुनर्गठनका क्रममा मन्त्रालयको जिम्मेवारीसमेत हेरफेर गर्ने तयारी गरिएको छ। आर्थिक मामिला तथा योजना र भौतिक पूर्वाधार विकासमध्ये एक–एक मन्त्रालय दुवै दलले राख्ने तथा बाँकी मन्त्रालय आपसी सहमतिमा बाँडफाँट गर्ने तयारी छ।
मन्त्रालयको जिम्मेवारी हेरफेर भए पनि एमालेबाट हाल सरकारमा रहेका मन्त्रीहरूलाई भने यथावत् राखिने मुख्यमन्त्री कार्कीले स्पष्ट पार्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्