जनता टाइम्स

८ पुष २०७६, मंगलवार १३:०७

मिस नेपाल अनुष्का श्रेष्ठसँगै छैन यो प्रश्नको जवाफ


काठमाडौं, पुस ८

‘मिस नेपाल’ अनुष्का श्रेष्ठले आफू टप ५ मा पर्न नसक्नुको प्रश्नको जवाफ आफूसँग पनि नभएको बताउनुभएको छ । काठमाडौँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘नेपालले यति धेरै मिहिनेत गर्दा पनि उत्कृष्ट १२ मै चित्त बुझाउनुपर्ने हो त भन्ने प्रश्न उब्जन सक्छ । यो प्रश्न मैले आफूलाई पनि सोधेकी छु ।’‘ मिस वर्ल्ड’मा अनुष्काले ‘मल्टिमिडिया र व्यूटी विथ अ पर्पस’ अवार्ड भने जित्नुभएको थियो ।

‘मिस वर्ल्डमा हाम्रो प्रस्तुति हेर्दा हामी उत्कृष्ट ५ मा पर्न लायक थियौं । म जान्न चाहन्छु कि, केही न केही कारण त थियो होला । तर, त्यो कारण हामीले जान्न पाएको खण्डमा अरु बर्ष हामीलाई सजिलो हुने थियो । त्यो पारदर्शिता देखाइदिन म आयोजकसँग आग्रह गर्दछु, उहाँले भन्नुभयो।’

उहाँले थप्नुभयो, ‘हामी सबै एकजुट भएर अगाडि बढेको मैले पाएँ । नेपाल र नेपालीलाई सकारात्मक बनाएको देख्दा मिस वर्ल्डको भाग लिन बर्षमा एक पटक होइन दुई पटक जान पाए हुन्थ्यो भन्ने लागेको छ ।’ उहाँले, फाइनलको दिन नआएसम्म आफूलाई हरेक दिन प्रतिस्पर्धा जस्तो नलागेको बताउनुभयो । उहाँले हरेक दिन नयाँ–नयाँ देशका प्रतिस्पर्धीलाई आफूले चिन्ने मौका पाएको समेत सुनाउनुभयो ।