जनता टाइम्स

२७ श्रावण २०८३, बुधबार १९:०३

एमालेमा चुलियो शक्ति संघर्ष : बागमतीमा दलका नेता हटाउन अविश्वासको प्रस्ताव दर्ता


काठमाडौं, साउन २७ । नेकपा एमालेमा शक्ति संघर्ष चुलिएको सङ्केत देखिएको छ । केन्द्रमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल समूहबिच कित्ताकाट भइरहँदा त्यसको सुरुवात बाग्मती प्रदेशबाट सुरु भएको छ ।

वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । हेटौँडास्थित संसदीय दलको कार्यालयमा १८ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दलका नेता थपलियालाई हटाएर पूर्वमन्त्री किरण थापा मगरलाई दलको नेता चयन गर्न माग गर्दै अविश्वास प्रस्ताव दर्ता भएको हो ।

थापाको पक्षबाट पूर्वमन्त्री कृष्णप्रसाद सिलवाल, ज्ञानबहादुर तामाङ र हरि सापकोटाले प्रस्ताव दर्ता गराउनु भएको छ । यससँगै एमाले वाग्मतीमा नेतृत्व हस्तान्तरणको प्रक्रिया निर्णायक चरणमा पुगेको सङ्केत देखिएको छ । अध्यक्ष ओली थापालाई बागमतीको मुख्यमन्त्री बनाउने योजनामा रहे पनि महासचिव पोखरेलको समूहले प्रतिवाद गरेपछि बागमतीको विवादमा इञ्चार्जसमेत रहनुभएका एमाले सचिव महेश बस्नेत प्रत्यक्षरुपमा मैदानमा उत्रनुभएको थियो ।

इञ्चार्जको समेत साथ पाएपछि किरण थापा समूहले बागमतीमा दलकै नेता हटाउने योजनासहित अविश्वास प्रस्ताव दर्ता गरेका हुन । बागमती प्रदेश सरकारको नेतृत्वको बिषयमा ओली निवास गुण्डुमा भएको छलफलमा अत्यन्तै तिक्ततापूर्ण अवस्था बनेको भन्दै समाचार बाहिर आएपछि अविश्वासको प्रस्तावसम्मको अवस्थामा पुगेको बताइएको छ ।

प्रदेशसभा सदस्य केशव पोखरेलले नेतृत्व परिवर्तनको प्रक्रिया केन्द्रको निर्देशनअनुसार अघि बढाइएको बताउनु भयो । ‘हस्ताक्षर त पहिल्यै सङ्कलन गरिएको थियो। केन्द्रको निर्देशनअनुसार दलको नेता फेर्ने प्रक्रिया अघि बढाइएको हो । सोही अनुसार आज प्रस्ताव दर्ता गरिएको हो,’ अविश्वासको प्रस्ताव दर्तापछि सांसद पोखरेलले भन्नुभयो ।

पोखरेलका अनुसार केही समयअघि भक्तपुरको गुण्डुमा सांसदहरूको हस्ताक्षर सङ्कलन गरिएको थियो र त्यही हस्ताक्षर प्रतिनिधिमार्फत संसदीय दलको सचिवालयमा दर्ता गरिएको हो । एमाले संसदीय दलको विधानअनुसार अविश्वास प्रस्ताव दर्ता भएपछि सात दिनभित्र संसदीय दलको बैठक बोलाएर त्यसबारे छलफल गर्नुपर्ने प्रावधान रहेको छ ।

पछिल्ला केही सातादेखि वाग्मती प्रदेशमा नयाँ सरकार गठन, सत्ता समीकरण र एमालेभित्रको आन्तरिक शक्ति सन्तुलनलाई लिएर चलिरहेको कसरतबिच थपलियाविरुद्धको यो कदमलाई केन्द्रबाट ओलीको सङ्केतमा इञ्चार्ज महेशको निर्णायक जवाफका रूपमा लिइएको छ । मुख्यमन्त्रीमा थापालाई बस्नेतले नै अघि सार्नुभएको हो । थापा भक्तपुर २ बाटै प्रदेशसभामा निर्वाचित सांसद हुनुहुन्छ । प्रदेश मन्त्रीका रूपमा उत्कृष्ट काम गरेको कारण थापालाई सरकारको नेतृत्व दिनुपर्ने अडानमा बस्नेत सुरुदेखि नै रहनुभएको थियो ।

प्रस्तावमा थपलियालाई संसदीय दलको नेताबाट हटाएर किरण थापामगरलाई नयाँ नेता चयन गर्न माग गरिएको छ। एमालेका अन्य सांसदहरूले समेत थापामगरलाई संसदीय दलको नेता बनाउन मौखिक सहमति जनाउनुभएको बताइएको छ। एमालेले थापामगरलाई मुख्यमन्त्री बनाउने उद्देश्यसहित संसदीय दलको नेता परिवर्तनको प्रक्रिया अघि बढाएको हो।

बागमती प्रदेशसभामा एमालेका २५ जना सांसद हुनुहुन्छ। यसअघि नै थपलियाविरुद्ध सांसदहरूले हस्ताक्षर गरिसक्नुभएको भए पनि उहाँ अस्पतालमा भर्ना हुनुभएकाले अविश्वास प्रस्ताव औपचारिक रूपमा दर्ता भएको थिएन।

गत साउन १८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलपछि अस्वस्थ हुनुभएका थपलिया उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो। उहाँ मंगलबार वीर अस्पतालबाट डिस्चार्ज हुनुभएपछि सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गर्नुभएको हो।

नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबिच भएको सहमतिअनुसार बागमती प्रदेशको मुख्यमन्त्री पद एमालेको भागमा परेको छ। तर, एमाले र नेपाली कम्युनिष्ट पार्टी मात्रै मिल्दा प्रदेशसभामा बहुमत पुग्ने अवस्था छैन। बहुमतका लागि थप दुई सांसदको समर्थन आवश्यक पर्ने भएकाले राप्रपा, नेपाल मजदुर किसान पार्टी वा अन्य दलको समर्थन जुटाउनुपर्ने अवस्था रहेको छ। त्यो भूमिका नयाँ बन्ने संसदीय दलको नेताले निभाउनु पर्ने छ । 

यसैबिच, एमालेले समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अल्पमतमा परिसक्नुभएको छ। उहाँ एमालेको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएको थियो