जनता टाइम्स

८ पुष २०७६, मंगलवार १३:२५

बस नदीमा खस्यो, २५ जनाको मृत्यु


पालेम्बाङ, पुस ८

इन्डोनेसियामा बस दुर्घटना हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन् । गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेको उद्धारकर्ताहरुले आज जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा दर्जनौँ यात्रु सवार रहेका थिए । दुर्घटनाको क्रममा सो बस १ सय ५० मिटर तल खसेको थियो ।

देशको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा सोमबार राती दुर्घटना भएको प्रहरीले जनाएको छ । यस दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या २४ पुगेको प्रहरीले पुष्टि गरेको छ । तर स्थानीयले भने २५ जनाको शव भेटिएको जानकारी दिएका छन् । उद्धारकर्ताहरुले घटनास्थलबाट घाइते तथा मृतकहरुलाई पानीभन्दा बाहिर निकालेको तस्वीरहरु सार्वजनिक भएका छन् ।

प्रहरी तथा उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य अझै जारी राखेका छन् भने केही व्यक्ति हराईरहेको बताइएको छ । त्यसैगरी केही व्यक्तिहरु बसमै च्यापिएको उद्धारकर्ताहरुको भनाई छ । घटनास्थलबाट जिवितै उद्धार गरिएका घाइतेहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटना भएको अवस्थामा यस बसमा झण्डै ५० यात्रु रहेका अनुमान गरिएको छ । दुर्घटना भएको ठाउँ देशको दुर्गम क्षेत्र मानिन्छ । इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभाको सुकाबुमी क्षेत्रमा पनि यसअघि गत सेप्टेम्बरमा पनि दुर्घटना भएको र कम्तीका २१ जनाको मृत्यु भएको थियो ।