काठमाडौं, साउन २८ । चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन भएको छ ।
झु रोङजीले सन् १९९८ देखि २००३ सम्म चीनको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको कार्यकालमा चीनलाई विश्व व्यापार संगठन (डब्लूटीओ) मा प्रवेश गराउन तथा विदेशी लगानी आकर्षित गर्न महत्वपूर्ण आर्थिक सुधारहरू अघि बढाइएका थिए ।
राज्य स्वामित्वका घाटामा रहेका उद्योग सुधार, कमजोर उद्योग बन्द वा निजीकरण तथा घर स्वामित्वलाई प्रोत्साहन गर्ने नीतिसहितका सुधार उहाँको कार्यकालमा अघि बढेका थिए । यी सुधारले चीनको तीव्र आर्थिक वृद्धिको आधार तयार गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
झु कठोर, व्यावहारिक तथा भ्रष्टाचारविरोधी नेताका रूपमा परिचित हुनुहुन्थ्यो । यद्यपि आर्थिक सुधारका क्रममा ठूलो संख्यामा रोजगारी गुमेको र सामाजिक असमानता बढेको भन्दै उहाँका नीतिको आलोचनासमेत भएको थियो ।
सन् १९२८ मा चीनको हुनान प्रान्तमा जन्मनुभएका झुले इन्जिनियरिङ अध्ययन गर्नुभएको थियो । माओत्सेतुङको निधनपछि राजनीतिक मूलधारमा फर्किनुभएका उहाँ सन् १९९१ मा उपप्रधानमन्त्री बन्नुभएको थियो । त्यसको सात वर्षपछि उहाँ चीनको प्रधानमन्त्री बन्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्