जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार २०:२१

र्‍याडिसन होटलको ग्यास स्टकमा विवाद, विभागकै अधिकारी भन्छन्– ७० सिलिण्डर चुल्होमा जोडिएका थिए


काठमाडौं, साउन २८ । काठमाडौंको पाँचतारे होटल र्‍याडिसनमा ठूलो परिमाणमा ग्यास सिलिण्डर भेटिएको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विभागको विवरणबीच फरक देखिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति विभागले गरेको अनुगमनका क्रममा होटलमा १८४ वटा ग्यास सिलिण्डर स्टकमा र ७० वटा चुल्होमा जोडिएको अवस्थामा भेटिएको जनाएको छ ।

तर, मन्त्रालयले होटलले १८४ वटा ग्यास सिलिण्डर लुकाएर राखेको भन्दै सूचना सार्वजनिक गरेपछि विषय विवादमा आएको हो ।

विभागका एक अधिकारीले भने होटलमा भेटिएको ग्यासको परिमाण अस्वाभाविक नभएको बताएका छन् । उनका अनुसार होटलले विगतदेखि नै सोही अनुपातमा ग्यास सिलिण्डर प्रयोग गर्दै आएको थियो र यसपटक अस्वाभाविक रूपमा बढी खरिद गरेको प्रमाण नदेखिएको हो ।

विभागका अधिकारीका अनुसार अनुगमनका क्रममा १८४ वटा सिलिण्डर स्टकमा र ७० वटा चुल्होमा जोडिएको अवस्थामा भेटिएका थिए । डिलरसँग बुझ्दा पनि होटलले विगतदेखि नै त्यति नै परिमाणमा सिलिण्डर प्रयोग गर्दै आएको पाइएको थियो ।

यसैबीच, होटलमा कति ग्यास सिलिण्डर मौज्दात राख्न पाउने भन्ने विषयमा हालसम्म स्पष्ट कानुनी व्यवस्था नभएको विभागले जनाएको छ ।

ग्यासको स्टक र प्रयोगसम्बन्धी मापदण्ड बनाउन होटल एसोसिएसन नेपाल हान र विभागबीच छलफलसमेत भएको छ । हानका महासचिव साजन शाक्यले होटलमा दैनिक ३० देखि ४० वटासम्म ग्यास सिलिण्डर प्रयोग हुनसक्ने भन्दै र्‍याडिसनमा भेटिएको ग्यास तीनदेखि चार दिनका लागि मात्रै पर्याप्त हुने बताउनुभएको छ ।

होटल तथा अन्य व्यावसायिक क्षेत्रमा ग्यासको मौज्दात र प्रयोगलाई व्यवस्थित गर्न नयाँ कार्यविधि बनाउने विषयमा विभागसँग सहमति भएको हानले जनाएको छ ।