जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०७:३३

कोलम्बियामा शक्तिशाली भूकम्पपछि ३ सय ७७ जना अझै बेपत्ता


काठमाडौं, २९ साउन । कोलम्बियामा गएको शक्तिशाली भूकम्पपछि अझै ३ सय ७७ जना बेपत्ता रहेका छन् । उद्धारको समय बित्दै जाँदा भग्नावशेषमा जीवित व्यक्ति भेटिने सम्भावना कमजोर बन्दै गएको छ ।

गत सोमबार बिहान स्थानीय समयअनुसार साढे ७ बजे ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा घर, भवन, विद्यालय र अस्पतालमा ठूलो क्षति पुगेको छ ।

सरकारी तथ्यांकअनुसार भूकम्पमा परी अहिलेसम्म कम्तीमा २ सय ७३ जनाको मृत्यु भएको छ भने ३ हजार ८ सयभन्दा बढी घाइते भएका छन् । अझै ३ सय ७७ जना बेपत्ता रहेको रोयटर्सले जनाएको छ ।

राजधानीपछिको ठूलो सहर कालीमा उद्धार टोलीले अधिकांश स्थानमा भग्नावशेष हटाउने काम सुरु गरेका छन् । तर, नौ स्थानमा भने खोज तथा उद्धार अभियान अझै जारी रहेको नगरप्रमुख अलेजान्द्रो एडरले बताएका छन् ।

भग्नावशेषभित्र जीवित व्यक्ति भए–नभएको पत्ता लगाउन उद्धारकर्तालाई सहज होस् भनेर ती क्षेत्रमा शान्त रहन आग्रह गरिएको छ । कालीको टोरेस डेल लिमोनार आवासीय क्षेत्रमा स्वयंसेवक, उद्धारकर्मी र सुरक्षाकर्मीले खोजी जारी राखेका छन् ।

भूकम्पपछि ग्यास सिलिन्डरसहित जोखिमपूर्ण सामग्री भेटिएकाले उद्धारका क्रममा विशेष सावधानी अपनाइएको छ । स्थानीय रेस्टुरेन्ट व्यवसायी तथा स्वयंसेवकहरूले उद्धारकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवक गरी दैनिक करिब १ हजार जनालाई खाना उपलब्ध गराइरहेका छन् ।

ग्रामीण तथा दुर्गम क्षेत्रमा भने उद्धार र राहत अझै चुनौतीपूर्ण बनेको छ । कालीको उत्तरपश्चिममा रहेको बुएनाभेन्तुराका केही प्रभावित बस्तीमा उद्धार टोली पुग्न नसकेको बताइएको छ । सशस्त्र समूहका कारण केही क्षेत्रमा पहुँच कठिन बनेको र राहत सामग्री वितरणमा समेत समस्या देखिएको छ ।

भूकम्पका कारण प्रभावित क्षेत्रमा खानेपानी, ग्यास र विद्युत् सेवा अवरुद्ध भएको छ । भूकम्पपछि १ सय ५० भन्दा बढी पराकम्प रेकर्ड भइसकेका छन् ।

सरकारले भूकम्पबाट १२ हजार ५ सयभन्दा बढी घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ । उद्धार तथा राहत कार्य जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।