जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०८:०३

युद्ध वर्षौंसम्म चले पनि इरानले मिसाइल प्रहार गरिरहने आईआरजीसीको दाबी


काठमाडौं, साउन २९ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का एक वरिष्ठ सल्लाहकारले युद्ध वर्षौंसम्म चले पनि इरानले अमेरिकाविरुद्ध मिसाइल प्रहार जारी राख्ने बताउनुभएको छ।

आईआरजीसीका शीर्ष कमान्डरका वरिष्ठ सल्लाहकार मोहम्मद रेजा नकदीले अमेरिकी सेना आफूहरूले सोचेजस्तो बलियो नरहेको दाबी गर्नुभएको हो।

अमेरिकी प्रसारक पीबीएससँगको अन्तर्वार्तामा नकदीले पछिल्लो पाँच महिनामा इरानले अमेरिकी सेनाको क्षमताबारे स्पष्ट जानकारी प्राप्त गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘यी पाँच महिनामा अमेरिकी सेना हामीले सोचे जस्तो बलियो छैन भन्ने देख्यौँ।’

नकदीले इरानले युद्ध जितिसकेको दाबीसमेत गर्नुभएको छ। युद्ध जति लामो समयसम्म जारी रहे पनि इरानले त्यसबाट थप अनुभव प्राप्त गर्ने उहाँको भनाइ छ।

अमेरिकाका दुई मुख्य उद्देश्य इरानी नेतृत्वलाई सत्ताबाट हटाउने र इरानलाई विभाजन गर्ने रहेको दाबी गर्दै उहाँले दुवै उद्देश्य असफल भएको बताउनुभयो।

युद्ध लामो समयसम्म चले पनि इरानले शत्रुविरुद्ध मिसाइल प्रहार गर्न नरोकिने उहाँले चेतावनी दिनुभएको छ।